'महिलाले आफैँ पनि ऐनामा हेरेर स्तनको परीक्षण गर्नुपर्छ । ऐनाको अगाडि उभिएर हुन्छ कि सुतेर स्तनको अवस्था ठीक छ कि छैन, कुनै गाँठागुँठी छन्/छैनन् परीक्षण गर्नुपर्छ ।'
हरेक महिला, चाहे विवाहित हुन् वा अविवाहित, आफ्नो वक्षस्थलप्रति अत्यन्त संवेदनशील हुन्छन् । किनकि, यो उनीहरूको शारीरिक आकर्षणको केन्द्र हो । भनिन्छ, स्तनको सुन्दरताले स्त्रीको शोभा बढाउँछ र पुरुषलाई यौनिक रूपमा समेत आकषिर्त गर्छ ।
यद्यपि, स्तनको महत्त्व शारीरिक वा यौनिक सन्दर्भमा मात्र सीमित छैन । विवाहित महिलाले जन्माएको शिशुलाई हुर्काउन आमाको दूध अनिवार्य हुन्छ । त्यसैले स्वस्थ स्तन महिलाका लागि मात्र नभएर उनले जन्माउने बच्चाका लागि पनि अति जरुरी छ । यस्तो संवेदनशीलताकै कारण पछिल्लो समय स्तनसम्बन्धी समस्या लिएर अस्पताल धाउने युवती तथा महिला बढिरहेका छन् । त्यसमा पनि ब्रेस्ट क्यान्सरको समस्या महिलामा बढ्दै गएको चिकित्सक बताउँछन् ।
गत एक वर्षमा मात्रै भक्तपुर क्यान्सर अस्पतालले ६० जना महिलाको ब्रेस्ट क्यान्सरको शल्यक्रिया गर्यो । ब्रेस्ट क्यान्सरको समस्या लिएर अस्पताल आउने महिलाहरूको संख्या बढ्दै गएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सुदीप श्रेष्ठ बताउँछन् । महिलामा हुने क्यान्सरमध्ये दोस्रो र क्यान्सरबाट हुने मृत्युमध्ये पनि दोस्रो नम्बरमा पर्छ ब्रेस्ट क्यान्सर ।
स्तन वा त्यसकोे मुन्टोमा परिवर्तन आउनु, गाँठो बढ्दै जानु, आकार बढ्नु, स्तनको मुन्टो भित्र नै खाँदिनु, सुनिनु, छाला रातो हुनु ब्रेस्ट क्यान्सरको लक्षण हो । यस्तो समस्या हुँदा सुरुको अवस्थामा दुख्दैन । समस्या बढ्दै गएपछि दुख्ने र रगत बग्ने पनि हुन्छ । तर, नदुखे पनि यस्तो समस्या देखिए परीक्षण गराइहाल्नुपर्ने चिकित्सक बताउँछन् ।
ब्रेस्ट क्यान्सर भन्नेबित्तिकै महिलामा मात्र हुने समस्या भन्ने लाग्न सक्छ । तर, पुरुषमा पनि यो समस्या हुने गरेको चिकित्सक बताउँछन् । ब्रेस्ट क्यान्सरका रोगीहरूमध्ये एकदेखि दुई प्रतिशत पुरुष हुने गरेको अध्ययनले देखाएको छ । विवाहित महिलामा सबैभन्दा बढी रहेको यो समस्याबाट अविवाहित पनि पीडित रहेको वीर अस्पताल रेडियोलोजी विभागकी चिकित्सक तारा मानन्धर बताउँछिन् । दैनिक १५/२० जना महिला ब्रेस्ट परीक्षण गराउन आउने गरेको अस्पतालले जनाएको छ । विदेशमा ५० वर्ष कटेका महिलामा समस्या बढी पाइए पनि ४० वर्ष कटेका नेपाली महिलामा समस्या धेरै पाइएको छ । त्यस्तै कम उमेरका युवती पनि यो समस्याबाट पीडित रहेको चिकित्सक बताउँछन् ।
शरीर स-साना कोषले निर्माण हुन्छ । सामान्य कोष ब्ाढ्ने, मर्ने नियन्त्रित तरिकाबाट हुन्छ । कहिलेकाहीँ ती कोष अनियन्त्रित तरिकाले विभाजित हुने र बढ्ने हुन्छ, यसलाई ट्युमर भनिन्छ । यदि यसले कोषको वरिपरि र शरीरको अरू भागमा आक्रमण नगर्ने खालको छ भने बेनिगन ट्युमर भनिन्छ । र, यो त्यति खतरा पनि हुँदैन । यदि विभिन्न कोषमा असामान्य तरिकाले फैलिएर, कोषलाई टुक्र्याउने, आक्रमण गर्ने या मार्छ भने त्यो मेलिग्नान्ट ट्युमर वा क्यान्सर हो । यसले ज्यानलाई जोखिम पुर्याउने सम्भावना हुन्छ । क्यान्सर कोषहरू शरीरमा रक्तनलीहरू र लिम्फानलीहरूबाट फैलिन सक्छ । लिम्फा सफा तरल पदार्थ हो जसले कोषमा रहेको फोहोरलाई निष्कासन गर्दछ । सिमीको आकारजस्तो बनावट भएकालाई लिम्फ नोड्स भनिन्छ । यो कोषमा रहेको फोहोर विशेष नलीबाट, लिम्फाको गिर्खामा जम्मा हुन्छ, जहाँबाट यो रक्तनलीमा जान्छ ।
खासगरी बढी चिल्लोयुक्त खाना खाने, मोटा र वंशाणुगत कारणले पनि ब्रेस्टको क्यान्सर हुन्छ । त्यस्तै, महिनावारी ढिला सुक्ने, अस्थायी बन्ध्याकरणका औषधि लामो समयसम्म प्रयोग गरेका महिला र ढिलो बच्चा जन्माएका महिला पनि जोखिममा रहेको चिकित्सक बताउँछन् । १० प्रतिशत ब्रेस्ट क्यान्सर वंशाणुगत कारणले हुने गरेको अध्ययनले देखाएको छ । तर, अहिलेसम्म ब्रेस्ट क्यान्सर भएकाहरूको परिवारमा अरूलाई पनि भएकोे थियो भन्नेचाहिँ होइन ।
यो क्यान्सरले निकै डरलाग्दा परिणाम निम्त्याउँछ । सर्जरी, मृत्यु, स्तन नै गुमाउनुपर्ने हुन सक्छ । स्तनले यौन-चाहनामा पनि प्रभाव पार्ने पारेको हुन्छ ।
सहरी भेगमा महिला समस्याप्रति अलि बढी सचेत छन् तर ग्रामीण भेकका महिलामा चेतना कम पाइएको भक्तपुर क्यान्सर अस्पतालका शल्य चिकित्सक कपीन्द्र अमात्य बताउँछन् । 'दुखेको छैन के परीक्षण गराउनु भनेर बसेका हुन्छन्, रोग फैलिसकेपछि मात्र अस्पताल आउँछन््,' उनी भन्छन् ।
ब्रेस्टमा गिर्खा आएको छ भने तत्कालै परीक्षण गराउनुपर्छ । तर, धेरै महिला दुखेको छैन भनेर चुप लागेर बसेको पाइन्छ । 'दुख्ने अवस्थामा पुग्दासम्म क्यान्सर पूरै शरीरमै फैलिसकेको पनि हुन सक्छ,' डा. अमात्य भन्छन्, 'त्यस्तो अवस्थामा भनेको बिरामीलाई बचाउनै मुस्किल पर्ने अवस्था हो ।' सुरुको अवस्थामा उपचार गराए शल्यक्रियामार्फत निको पार्न सकिन्छ । र, ब्रेस्टलाई पनि बचाउन सकिने डा. अमात्य बताउँछन् । दोस्रो स्टेजमा हो भने ब्रेस्ट फाल्नुपर्ने हुन सक्छ । तेस्रो स्टेजमा क्यान्सर पूरै शरीरमा फैलिसकेको हुन्छ ।
सुरुमै उपचार गराए ब्रेस्ट क्यान्सर पूर्णरूपमा निको हुन्छ । ब्रेस्टमा नदुख्ने गिर्खा, गाँठागुँठी भए तत्काल जचाउनुपर्छ । मेमोग्राममार्फत गिर्खा पत्ता लगाइन्छ । शंका लागे चिकित्सकले बायोप्सी गराउँछन् । बायोप्सी गर्दा सुईबाट मासु निकाल्ने वा चिरेर मासु निकाल्ने भन्ने कुराको निर्णय चिकित्सकले गर्छन् । परीक्षणमा क्यान्सर पाइए तत्काल अप्रेसन गर्नुपर्छ । परीक्षणमा क्यान्सरको लक्षण देखिए शल्यक्रिया गरेर त्यसलाई हटाइन्छ ।
युवतीले पहिलोपटक महिनावारी हुनेबित्तिकैदेखि ब्रेस्टमा के समस्या छ आफैं जाँच्नुपर्ने डाक्टर मानन्धर बताउँछिन् । गाँठागुँठीे केही भेटिए तत्काल चिकित्सकलाई देखाउनुपर्छ । त्यस्तै महिलाहरूले आफैं पनि ऐनाको अघि उभिएर स्तनको परीक्षण गर्नुपर्छ । 'ऐनाको अघि उभिएर हुन्छ कि सुतेर हुन्छ ब्रेस्टको अवस्था ठीक छ कि छैन, कुनै गाँठागुँठी छ/छैन भनेर परीक्षण गर्नुपर्छ,' उनी भन्छिन् ।
४० वर्ष नाघेका महिलाले हरेक एक/दुई वर्षमा मेमोग्राम गराउनुपर्छ । मेमोग्राम ब्रेस्टको एक्सरे लिने प्रक्रिया हो । ४० वर्षभन्दा कम उमेरका महिलामा पनि ब्रेस्ट क्यान्सरको जोखिम हुने हुँदा आफ्नो चिकित्सकको परामर्श लिनु उचित हुन्छ । उमेर बढ्दै जाँदा ब्रेस्ट क्यान्सर हुने सम्भावना बढ्छ । ४० कटेका महिलामा त्यो सम्भावना बढी हुन्छ । एउटा बे्रस्टको क्यान्सर भएकालाई अर्कोमा पनि हुने सम्भावना बढी हुन्छ । प्ारिवारमा आमा, दिदी वा बहिनीलाई ब्रेस्ट क्यान्सर भएको भए सन्तानमा हुन सक्छ । अझ परिवारका सदस्यलाई ४० वर्षअघि नै ब्रेस्ट क्यान्सरको समस्या भए जोखिम अझ बढी हुने चिकित्सक बताउँछन् । तर, युरोप र अमेरिकाका गोरी महिलाको तुलनामा एसियन, अपि|mकी महिलामा ब्रेस्ट क्यान्सरको जोखिम कम हुने अध्ययनले देखाएको छ ।
बेलायतमा हरेक १० मध्ये एकजना महिलामा जीवनको कुनै न कुनै उमेरमा ब्रेस्ट
क्यान्सर हुने गरेको छ । त्यहाँ हरेक वर्ष ४५ हजारभन्दा बढी केशहरू पत्ता लाग्छन् । र, ३४ देखि ५० वर्षको महिलाको मृत्युको मुख्य कारण पनि ब्रेस्ट क्यान्सर भएको बताइन्छ ।
त्यस्तै, उमेर छिप्पिएछि पहिलो बच्चा जन्माएका महिलामा ब्रेस्ट क्यान्सरको जोखिम धेरै हुन्छ । त्यस्तै, १२ वर्षभन्दा कम उमेरमै पहिलोपटक रजश्वला भएकी युवतीमा पनि पछि गएर ब्रेस्ट क्यान्सर हुने सम्भावना धेरै हुन्छ । ५५ वर्ष पुगिसक्दा पनि रजश्वला भइरहने महिला पनि उत्तिकै जोखिममा हुन्छन् । बच्चा नै नजन्माएका महिलामा पनि जोखिम उच्च हुन्छ । त्यस्तै गर्भनिरोधको औषधि लामो समयसम्म खानेमा पनि जोखिम हुन सक्ने अध्ययनले देखाएको छ ।
धेरै मोटा महिलामा पनि खतरा बढी हुन्छ । शारीरिक काम नगर्ने महिला पनि जोखिममा हुन्छन् । सक्रिय महिलामा जोखिम कम हुने चिकित्सक बताउँछन् । धेरै रक्सी सेवन गर्ने महिलामा पनि खतरा बढी हुन्छ । उमेर ढल्किएपछि ब्रेस्ट क्यान्सर भएका महिलामा के कारणले ब्रेस्ट क्यान्सर हुन्छ भन्ने पत्ता लाग्न बाँकी नै छ ।
जुनसुकै अवस्थाको ब्रेस्ट क्यान्सर भए पनि अप्रेसन अनिवार्य गर्नैपर्छ । सुरुको अवस्थाको भए अप्रेसन गरेर ट्युमर फाल्दा निको हुन्छ र ब्रेस्टलाई पनि जोगाउन सकिन्छ । तर, उपचार गराउन ढिला भएर ब्रेस्ट नै फाल्नुपर्ने हुन सक्छ । ग्रामीण महिलाहरू ब्रेस्टमा गिर्खा आउँदा पनि चुप लागेर बस्नुमा र ब्रेस्ट पूरै निकाल्नुपर्छ भन्ने गलत बुझाइ पनि दोषी रहेको चिकित्सक अमात्यको अनुमान छ । उपचारमा शल्यक्रिया, किमोथेरापी र
रेडियोथेरापी विधि अपनाइन्छ । पछिल्लोपटक विकास भएको हर्मोनथेरापी विधि अपनाउँदा पाँच वर्ष लगातार औषधि खानुपर्छ । तर, कुन किसिमको उपचार पद्धति अपनाउने भन्ने निधो चिकित्सकले नै गर्छन् । चिकित्सकले एउटा मात्र उपायबाट औषधि नगरी विभिन्न उपाय अपनाउन पनि सक्छन् । तपाईंलाई पनि आफू जोखिममा छु भन्ने लाग्छ भने चिकित्सकसँग परामर्श गर्नु राम्रो ।
अर्जुन पौडेल/नयाँ पत्रिका
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 318 पटक हेरेको
Share