आज नेपालमा :

राजसंस्था फर्किए पनि राजा हुन्नँ : पारस
[ Posted on 20th of May ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

पारस शाह अर्थात कुनै बेलाका श्री ५ युवराजधिराज पारस विरविक्रम शाह । २०६२/०६३ को जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र जब नागरिकको कित्तामा झरे, पारसको त्यो सान पनि रहेन । तत्कालीन अवस्थामा पनि अलोकपि्रय युवराजको रुपमा चिनिने पारसको रवाफ पहिलेको जस्तो छैन । नेपालमा रहँदा 'उदण्ड' र 'अपराध मनोवृत्ति' का कारण चर्चामा आउने पारसको नाम केही महिनाअघि सिंगापुर रहँदा जाली नोट कारोबारमा समेत मुछियो । पछिल्लोपटक पारस मिडियासँग निकै खुल्न थालेका छन् । अस्थिर नेपाली राजनीतिका बीच यदाकदा राजतन्त्रको पुनरागमनको सम्भावनाका विषयमा फाटफुट कुरा चलिरहेको सन्दर्भमा पारसले भने आफूलाई राजा बन्ने इच्छा नभएको बताएका छन् । उनले भनेका छन्, "मेरो इच्छा त यस्तो छ कि साइकल चढेर असन-इन्द्रचोकतिर किनमेल गर्न जाउ“m, न्युरोडतिर टहलिँदै गएर चिया पिउन पाउ“m । अगाडि-पछाडि साइरन बजाएर जनतालाई असुविधा पुर्‍याउँदै तामझाम देखाउने कुनै सोख छैन मलाई ।" त्यतिमात्र होइन, उनले आĎनो विगतलाइ उमेरजन्य कमिकमजोरी भन्दै ती कमिकमजोरीप्रति प्रायश्चित गर्न नहिच्किचाउने बताएका छन् ।


यतिखेर तपाईं मिडियामा निकै खुल्न थाल्नुभयो नि, यसको विशेष कारण छ कि ?
त्यस्तो विशेष कारण केही पनि छैन र निकै खुलेको या खुल्दै नखुलेको भन्ने पनि होइन । वर्तमान परिस्थितिमा देशको राष्ट्रियता, स्वाधीनता संकटमा पर्न लागेको देखिएकोले देशको एक नागरिकको हैसियतले चुप लागेर बस्न मनले मानेन । त्यसैले म राजनीतिक व्यक्ति नभए पनि एउटा सचेत नेपाली नागरिकको हैसियतले आफ्नो देशप्रतिको दायित्वबोध गरेर जिज्ञासुहरुमाझ आफ्नो विवेकअनुरुप केही कुरा राखेको हुँ । मेरो विचारमा राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, शान्ति र विकासका निम्ति प्रत्येक जिम्मेवार व्यक्तिले आफ्नो विचार खुलस्त राख्न जरुरी छ ।

सामाजिक सेवा र धार्मिक कार्यक्रमहरुमा तपाईंको संलग्नता यतिबेलै किन होला ?
तुलनात्मकरुपमा मुलुकमा यतिबेला शान्ति अलिक ज्यादा नै खल्बलिएजस्तो लाग्छ । शान्ति स्थापनाका लागि अन्य प्रयासहरुका अलावा धार्मिक या आध्यात्यत्मिक भावनाले पनि ठूलो भूमिका निर्वाह गर्छ जस्तो मलाई लाग्छ । यही मान्यताबाट प्रेरित भएर म धार्मिक कार्यमा सरिक भएको हुँ । हाम्रोजस्तो देशमा त धर्मले विशेष स्थान पाएको छ । कुनै पनि व्यक्ति धर्मबाट अछुतो र उपेक्षित छैन । तसर्थ मलाई पनि धर्मप्रति बढी आस्था छ । यसैगरी विकास पनि हाम्रो देशका लागि अपरिहार्य विषय भएकोले सामाजिक सेवाको माध्यमबाट विकास-निर्माणका काममा आफूसक्दो सहभागिता जनाउने अठोट मैले लिएको छु । धार्मिक कार्य भन्नाले यसलाई अलिक व्यापक अर्थमा बुझ्नु आवश्यक छ । जन्मले म हिन्दू हुँ तर मेरो विचारमा सबै धर्मको आ-आफ्नै मर्म र महत्त्व छ । कसैले पनि अर्काको धर्म वा धर्मावलम्बीप्रति चोट पुर्‍याउने काम गर्न हुँदैन । 'कुण्ड-कुण्ड पानी मुण्ड-मुण्ड बुद्धि' भनेझैं आ-आफ्नो विवेकअनुसार व्यवहार गर्न दिनुपर्छ, छुत-अछुत गरेर समाजमा वैमनश्य र वितृष्णा फैलाउन हुँदैन ।

समाजसेवा नितान्त आत्मसन्तुष्टिका लागि हो कि यसमा कुनै राजनीतिक उद्देश्य पनि लुकेको छ ?
राजनीतिबाट म पूरै अलग छु । मेरो उद्देश्य राजनीति नभएर देशमा शान्ति र विकास कायम गर्नु हो । यस्तो कार्यले स्वाभाविकरुपमा आत्मसन्तुष्टि पनि प्रदान गर्छ नै ।

तपाईंले हाल देखाउनुभएको सक्रियता राजसंस्था फर्काउने कसरतको प्रारम्भिक रुप हो भन्ने आक्षेप पनि लागेको छ नि ?
राजसस्था फर्काउने-नफर्काउने भन्ने कुरा मेरो व्यक्तिगत या मेरो परिवारको प्रयासबाट मात्रै हुने कुरा होइन । मैले अहिले सामाजिक कार्यमा हात हालेकाे भन्दैमा अनर्थ नलागोस् । जनस्तरबाट राजसंस्था आवश्यक ठानिए त्यो सम्भव हुनसक्छ । जनता जनार्दन हुन्, रैती होइनन् । हालका राजनीतिक पार्टी र नेताहरुले जनतालाई रैती बनाउन थालेको भान हुन्छ । यस्तो प्रवृत्तिले बढावा पाउनुहुँदैन भन्ने मेरो मान्यता छ ।

विश्वका कतिपय मुलुकमा राजसंस्था पुनस्र्थापन भएका उदाहरण पनि छन्, नेपालमा त्यो सम्भावना छ जस्तो लाग्छ ?
मैले भनिहालें- यो मैले भन्ने कुरो होइन तर जनताले चाहे जे पनि हुनसक्छ । यसको ज्वलन्त उदाहरणका रुपमा कम्बोडियालाई लिन सकिन्छ । जनस्तरबाटै आएको लहरले त्यहाँ राजसंस्था पुनस्र्थापन गरेको हो ।

राजसंस्था पुनस्र्थापन हुनुपर्छ कि पर्दैन, व्यक्तिगतरुपमा के लाग्छ तपाईंलाई ?
यो शब्दसँग सम्बन्धित व्यक्ति हुनाले यस विषयमा मैले कमेन्ट गर्न उपयुक्त नठहरिएला । यो सवाल जनस्तरमा लैजाँदा उपयुक्त होला ।

राजसंस्था पुनस्र्थापन हुनुपर्छ भन्ने आवाज कतै-कतै उठ्न थालेको छ, कस्तो लाग्छ ?
२ सय ४० वर्ष शासन गरेको संस्थाले अन्तिम अवस्थामा देश र जनताको मर्म बुझी राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामा कसैले आँच नपुर्‍याओस्, शान्ति र विकास नगुमोस्, नखल्बलियोस्, कसैको हस्तक्षेप नहोस् भन्ने सदिच्छाले मेरा बुबाले सहज र सरल ढंगबाट गद्दी त्याग गरिबक्सेको दुनियाँ जान्दछ । यो विश्वकै अनुपम उदाहरण पनि हो । राजसंस्थाले यस्तो त्याग पहिले पनि दर्साएकै हो । ००७ सालको घटनालाई त्यसरुपमा लिन सकिन्छ । त्यसबेला देश र जनताकै निम्ति राजगद्दी त्याग्ने जोखिम मोलेको थियो नेपालको राजसंस्थाले । पछि जनताले नै पुनस्र्थापित गराएका हुन् । हाल आएर राजनीतिक दलहरुमा खिचातानी, द्वन्द्व र पदलोलुपता, जनताप्रति गैरजिम्मेवारीपन, शुभलाभबाट प्रेरित हुने प्रवृत्ति बढेको र राजनीतिक नेताहरु रातारात धनाढ्य बनेको जनताले देखे । राजसंस्था यस्ता कुरामा सचेत थियो, यस्ता विकृतिबाट अछुत थियो । हाल जनताले यो मूल्यांकन गरेर राजसंस्था पुनस्र्थापित होस् भन्ने आवाज उठाउन थालेका पो हुन् कि ?

हिन्दू धार्मिक समुदाय र राजसंस्था सँगै जोडेर हेरिनुको तात्पर्यचाहिँ के होला ?
यहाँ यस्ता तत्व पनि छन्, जो अर्काको नाम गलत नियतले भजाएर स्वार्थसिद्ध गर्छन् । उनीहरुले एउटा 'स्पेस' राखेर खेलेका हुन्छन्, जसले सम्बन्धित व्यक्तिहरुबीच प्रत्यक्ष अन्तक्रिर्या हुनबाट वञ्चित पारेर आफ्ना क्रियाकलापहरु सञ्चालन गरिराखेका हुन्छन् । धर्मको नाममा पनि हामीलाई मुछेर ती तत्वहरुले नाजायज फाइदा उठाइरहेका छन् । त्यसमा आमजनता आफै पनि सजग हुनुपर्छ ।

कट्टर हिन्दूवादीहरुलाई उचालेर राजसंस्थाको पक्षमा प्रयोग गर्न खोजिएको भन्ने आरोप मिथ्या हो त ?
वास्तविकता यही नै हो । यसको ज्वलन्त उदाहरण हालै वीरगन्जको घटनालाई पनि लिन सकिन्छ भन्ने मलाई लाग्छ ।

जनताले राजा बनाउन चाहेपनि आफू नबन्ने भनी तपाईंले भन्नुभएको प्रचारमा आयो नि, यो के हो ?
म व्यक्तिगतरुपमा राजा बन्न चाहन्नँ । जनताले राजसंस्था पुनस्र्थापन गरेपनि बीसौं होइन, अब बाइसौं शताब्दी अनुकूल हुनेगरी हुनुपर्छ । मेरो इच्छा त यस्तो छ कि साइकल चढेर असन-इन्द्रचोकतिर किनमेल गर्न जाउ“m, न्युरोडतिर टहलिँदै गएर चिया पिउन पाउ“m । अगाडि-पछाडि साइरन बजाएर जनतालाई असुविधा पुर्‍याउँदै तामझाम देखाउने कुनै सोख छैन मलाई ।

युवराज भएर रहँदा र सामान्य नागरिक हुँदा कुनमा सजिलो अनुभूति गर्नभएको छ ?
मलाई यतिखेर धेरै आनन्द अनुभूति भइरहेको छ । धेरै कुरा प्रत्यक्षरुपमा जान्ने-बुझ्ने अवसर पनि पाइरहेको छु, जो अत्यन्त महत्त्वपूर्ण छ । हिजो हामीलाई गुमराहमा राखिएको रहेछ । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन नसक्दा जनताको वास्तविक अवस्था वा मर्म बुझ्न नसकिँदो रहेछ । वरपरकाहरुले गुमराहमा राखी व्यक्तिगत स्वार्थसिद्ध गर्दा रहेछन् । त्यस्ताहरुले आफैं सर्वज्ञाता भएर काम गर्दा राजसंस्थालाई हानि हुने काम गरे । तसर्थ म आजका नेताजनलाई सुझाव दिन चाहन्छु- सीमित घेराभित्र बसेर कुनै निर्णय नलिनुहोस् । तलका जनताको अवस्था र मर्म बुझेर मात्र महत्त्वपूर्ण निर्णहरु लिँदा देश र जनताका साथै दल र नेताहरुलाई पनि राम्रो हुन्छ ।

राजसंस्थाले बिदा पाउनुमा तपाईंको व्यक्तिगत कमी-कमजोरीले पनि भूमिका निर्वाह गरेको कुरा गर्नेहरुलाई के भन्नुहुन्छ ?
मैले के त्यस्तो गम्भीर भूल गरें, जसका कारण राजसंस्था नै विस्थापित हुनुपर्‍यो ? मैलेभन्दा पनि ठूला-ठूला गल्ती गर्नेहरु आज सडकमा खुलेआम छाती फुकाएर हिँडेका छन् । काठमाडौंका डनहरुले के-के गरे र तिनलाई कसले संरक्षण गरे ? यो कुरा मैले पनि पत्रपत्रिकामा पढेको छु, तपाईंहरुले पनि बुझ्नुभएकै होला । त्यस अर्थमा मैले गरेका गल्तीलाई मात्र मध्यनजर गर्नुमा दुराशय लुकेको छ । तिललाई पहाड बनाएर मिडियामा प्रचारप्रसार गर्ने काम मेरो हकमा भयो । कहाँबाट, किन, कसरी र कसले यस्तो गर्‍यो, यो खोजिनिती गर्ने दायित्त्व तपाईंहरुको पनि हो । कागले कान लग्यो भनेर कसैले भन्दैमा हामीहरु आफ्नो कान नै नछामी कागतर्फ दौडियौं कि ?

आफ्नै कमी-कमजोरी औंल्याउनुपर्‍यो भने मुख्यगरी कुन कुरा औंल्याउनुहुन्छ तपाईं ?
म कुनै भगवान् होइन, मानिस नै हुँ । मानिस भएपछि केही गल्ती-कमजोरी हुन्छन्, मबाट पनि भए होलान् । तर, मेरा गल्ती वा सानातिना मानवीय कमजोरीलाई नियोजितरुपमा ठूल्ठूलो अपराध बनाएर प्रचार गर्ने काम गरियो । एउटा मानिसलाई दानवका रुपमा प्रस्तुत गर्ने दुष्कर्म गरियो जस्तो लाग्छ मलाई । मेरा कमी-कमजोरी देश र जनताका लागि हानि पुर्‍याउने कोटीका थिए जस्तो लाग्दैन । अर्को महत्त्वपूर्ण तथ्य के पनि हो भने, मलाई भविष्यमा युवराजधिराज या राजा बनाइने गरी त्यसअनुरुपको माहोलमा हुर्काइएको थिएन, राजकाज गर्नका लागि आवश्यक तालिम दिइएको थिएन, किनकि म युवराजधिराज या राजा बन्ने रोलमै थिइनँ । मेरो कुनै चाहना र सोच हुने कुरा पनि भएन । यसर्थ म दरबारको सदस्य भएपनि आमजनताजस्तै भएर हिँडेंं । त्यसक्रममा मेरा केही साथीहरुले व्यक्तिगत स्वार्थसिद्धिका लागि मेरो नाम भजाएर विभिन्न निकायबाट फाइदा उठाए होलान् । त्यसै क्रममा मलाई डि्रंक्स गराउने, डिस्को जान अफर गर्ने काम गरियो होला । मेरो इच्छाभन्दा पनि लहैलहैमा लागेर यी उमेरजन्य कमी-कमजोरी भए, जोप्रति म प्रायश्चित गर्न हिच्किचाउँदिनँ ।

राजसंस्था नरहेकै कारण देश अशान्त देखिएको हो ?
यसको जवाफ दिइसकेकै छु । वास्तविकरुपमा जिम्मेवार नेताहरु पद र पैसाकै मात्र प्यासी भएकाले यस्तो अवस्था आएको हुनसक्छ । जनता र मुलुकका निम्ति केही नगर्ने तर जनताकै नाममा लुटी खाने काम भएको छ । जनभावनाको कदर गरी त्यसलाई व्यवहारमा उतार्नुको साटो उनीहरुको शोषण गरिएकाले यस्तो भएको हुनुपर्छ ।

तपाईं गत १५ गते वीरगन्ज जानुभयो, भव्य स्वागत पनि भएको देखियो । तर, सुरक्षाका दृष्टिले वीरगन्ज आउनु ठीक छैन भनेर अघिल्लो दिन त्यहाँ आफूलाई राजावादी भन्नेहरुले नै माइकिङ गरेका थिए । यसरी भ्रमण रोक्ने कोसिस कसबाट र किन भयो होला ?
यस्तो भएको मैले पनि थाहा पाएँ । अघि मैले व्यक्त गरेका तत्त्वहरुले नै यसो गरे होलान् । किन गरे भन्ने सवालमा मैले अघि नै भनिसकेको छु । वास्तवमा मैले त त्यहाँ सर्वसाधारण जनताले मलाई निकै माया र स्नेह प्रदान गरेको अनुभूति गरें । मलाई अप्ठ्यारो पर्दा उहाँहरुले नै बोझ उठाउनुभयो । हृदयदेखिको प्रेममा मात्र त्यस्तो गरिन्छ । यथार्थ त्यस्तो हुँदाहुँदै सुरक्षालगायतका सवाल उठाएर किन मेरो वीरगन्जयात्रा रोक्न खोजिएको हो, के-कस्तो स्वार्थले त्यसो गरिएको हो, अझै बुझ्न सकिन्छ ।

अन्तमा, भावी जीवन कसरी बिताउने योजना छ तपाईंको ?
म समाजसेवा र धर्मकर्ममै सीमित रहन चाहन्छु । यसबाहेक त भविष्य या परिस्थितिले नै निर्धारण गर्ला, म के भन्न सक्छु र ?

साभार : घटना र विचार साप्ताहिक




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 366 पटक हेरेको Add to Google Share