प्रख्यात अभिनेता हरिवंश आचार्यसँग भेट्न सुटिङ स्टुडियो पुग्दा उनी 'ढलमती' टिभी श्रृंखला अभिनयमा व्यस्त थिए । सुटिङमा व्यस्त रहेकै बेला खाना खाने छुट्टीमा राजनीतिका बारेमा गफ गर्न हौसिए । उनै प्रख्यात कलाकारसँग नेपालको वर्तमान परिस्थिति, अबको बाटो, संविधानलगायत अन्य विषयमा अच्युत कोइराला र जनक तिमिल्सिनाले गरेको कुराकानीको संक्षेप-
संविधानसभाको म्याद थपियो, तपाईंलाई व्यक्तिगतरुपमा कस्तो लाग्यो ?
म्याद नथपिकनै सबै काम सकिएको भए धेरै राम्रो हुन्थ्यो । त्यसपछि नेपाली जनता आनन्दले आ-आफ्नो काममा लाग्थे । संविधान भनेको संगीतमा नोटेसनजस्तो हो । नोटेसनभन्दा बाहिर गएर बाजा बजायो भने बेसुरो सुनिन्छ । त्यसैगरी, संविधानबिना देश बेसुरो हुन्छ, चाहेको जस्तो आवाज निकाल्न सक्तैन । हुनलाई त अन्तरिम संविधान छ तर स्थायी संविधान होइन यो । स्थायी संविधान बनेको भए मान्छे ढुक्क हुने थिए ।
कैयौं देशमा संविधानसभा गठन भएपछि पनि लामो समयसम्म संविधान बन्न सकेको छैन । २ वर्षमा संविधान बन्न सकेन भनेर आत्तिहाल्नु पर्ने वा देश डुबिहाल्यो भन्नुपर्ने अवस्था छैन । ३ वर्षभित्र बन्यो भने पनि ठूलो उपलब्धि हुनसक्छ । तर, हतारमा बनाएर पछि जलाउनुपर्ने अवस्था आउने संविधानचाहिँ हामीलाई चाहिएको छैन । हामीलाई संविधान चाहिएको छ तर राम्रो । अहिलेको युग भनेको लोकतन्त्रको युग हो । अहिलेको समयमा एकदलीय शासनव्यवस्था संसारमा कतै पनि टिक्न सक्दैन । त्यसैले लोकतान्त्रिक संविधान हामीलाई चाहिएको छ । त्यहाँ कम्युनिस्ट अटाउनसक्छ, साम्यवादी, समाजवादी र अराजकवादी पनि अटाउनसक्छन् । अहिले त कति सजिलो छ भने संसारभरका नराम्रा चिजहरुलाई हामी तुरुन्त हेर्नसक्छौं, बुझ्नसक्छौं र त्यस्ता खराबी र नराम्रा कुराहरुलाई संविधानबाट हटाउनसक्छौं । अरु देशले पाएको दुःख हामीले संविधानमा नराख्ने, अरु देशले गरेको प्रगतिको उदाहरणहरु लिने गर्यौं भने राम्रो संविधान बन्छ । राम्रो संविधान बन्यो भने ३ वर्ष लगाएर बनाए भनेर गुनासो गर्ने ठाउँ रहँदैन । यो हाम्रा लागि ठूलो उपलब्धि हुनसक्छ ।
३ ठूला दलहरुको संविधानबारेमा आ-आफ्नै डम्फु छन् । माओवादीले संविधान कस्तो हुनुपर्छ भनेर जारी गरिसक्यो, नेपाली कांग्रेसका नेता नरहरि आचार्यले पनि आफ्नो धारणा राखिसके । एमालेको पनि आफ्नै किसिमको छ । सहमति हुनुअघि नै यसरी आ-आफ्नै कुरा ठूला मानेपछि संविधान कस्तो बन्ला त ?
२०४७ सालको संविधान फेल भइसकेको हो । त्यसको अर्थ अब साम्यवादी संविधान ल्याउने भन्ने कुरा होइन । माओवादीले भनेका १-२ कुरा राम्रा पनि छन् । राष्ट्रपति वा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्ने माओवादीको कुरा ठीक हो मेरो विचारमा किनभने वेस्टमिनिस्टर पद्धतिले नेपाललाई डुबाएको हो, जुन २०४७ सालको संविधानले व्यवस्था गरेको छ । पञ्चायतकालदेखि अहिलेसम्म पनि आफ्नो सरकार टिकाउन जम्बो मन्त्रिमण्डल बनाउने, मज्जाले भ्रष्टाचार गर्ने, सीडीओलाई चड्कन लगाउँदा पनि मन्त्रीलाई कारबाही गर्न नसक्ने जस्ता कुराले जनताको विश्वास गुमाइन्छ । कारबाही गरुँ भने आफ्नो सरकार अल्पमतमा पर्छ भन्ने सोच देखियो । बहुमत पुर्याएर सरकार गठन गर्ने भन्ने कुरा संसद् सदस्यहरुलाई रिझाउने, गोडा मोल्नुपर्ने, चाकडी गर्नुपर्ने अवस्था देखियो । केही एक्सन गर्यो भने सरकार गिर्ने भएकाले ज्यादै अनैतिक कामहरु भए । एमालेले प्रधानमन्त्री सीधा इलेक्टेड बाई पिपुल भनिरहेको छ, माओवादीले राष्ट्रपति सीधा इलेक्टेड बाई पिपुल भनिरहेको छ । अब कांग्रेसका धेरैजसो व्यक्तिहरु चाहिँ वेस्टमिनिस्टर सिस्टम भन्छन् । तर, वेस्टमिनिस्टर प्रणालीबाहेक अन्य सबै चिज राम्रा छन् । अब सीधा इलेक्टेड भएको प्रधानमन्त्री या राष्ट्रपति तानाशाही हुन्छन् कि भन्ने कुरा गर्नेहरु पनि नभएका होइनन् तर मेरो धारणा के छ भने राष्ट्रपति या प्रधानमन्त्री तानाशाही नहुनका लागि देशको संविधान र कानुन बलियो हुनुपर्छ । त्यही कानुनले उनीहरुलाई अंकुश लगाउन सकिन्छ । कतिपय देशमा राष्ट्रपति वा प्रधानमन्त्री भइसकेका व्यक्तिहरुलाई पनि दण्ड दिइएका घटनाहरु छन्, जेल हालिएका छन् । त्यसैले एउटा व्यक्तिको दिमागले चा≈यो भने गर्न सकिने थुप्रै कामहरु छन् भन्ने कुरा सिंगापुरका प्रधानमन्त्री ली क्वान र मलेसियाका मोहाथिर मोहम्मदलाई हेरे पुग्छ । हाम्रो देशमा पनि युगको चाहना पूरा गर्नसक्ने र दूरदर्शी सोच भएका व्यक्ति छन्, छैनन् भने पनि अवश्य जन्मेलान् । मलाई के लाग्छ भने एकदिन हाम्रो देश पनि समृद्ध हुनेछ । त्यसैले फेल भइसकेको संविधान होइन कि नयाँ संविधान चाहिन्छ । यस्तो संविधान आओस् कि त्यसले बिखण्डनको बीउलाई समूल नष्ट गरोस् । आत्मनिर्णयको अधिकार भनिएको छ तर कत्तिको अधिकार ? देश नै टुक्र्याउने अधिकार ? अथवा भाषा र संस्कृतिको अधिकार ? तर, सुरक्षाको मामिलामा कुनै पनि किसिमको अधिकार दिइनुहुँदैन । आज विश्वका कतिपय देशहरु आत्मनिर्णयको अधिकारका कारण टुक्रिएका छन् । त्यो गल्ती हामीले गर्नुहुँदैन ।
संघीयताको कुरा उठिरहेको छ, यस्तो अवस्थामा हामीलाई कस्तो संघीयता चाहिएला ?
संघीयता भनेको बिकेन्दि्रकरण हो । सबै चिजमा केन्द्रको मुख ताक्नु नपरोस् । पासपोर्ट बनाउन यहीँ आउनुपर्छ, राम्रो कलेज पढ्नका लागि यहीँ आउनुपर्छ । राम्रो हस्पिटलमा उपचार गराउनु पर्दा यहीँ आउनुपर्छ । सबै चिज केन्दि्रकृत भयो । त्यसैले संघीयता भन्नाले वैज्ञानिक हिसाबले मिलेको संघको निर्माण गर्नुपर्छ । लोकतन्त्रमा सबै जात आत्मगौरव गर्ने अवस्था हुन्छ । तर, जातकै आधारमा भू-बनोटलाई राख्ने र जातकै आधार देशलाई विभाजन गर्ने कुरा गरे कसै-कसैले । त्यही बीउ बनमारा घाँसजस्तै नमौलाओस्, सबै जातको अस्तित्व हुनुपर्छ । संस्कृति नभई देश नै हुँदैन ।
पार्टीहरु अझै पनि सत्तामै केन्दि्रत छन् । एमाले र कांग्रेस सत्ता नछोड्ने, माओवादीलाई सत्ता नभई केही नगर्ने स्थिति देखिइरहेको छ । यस्तो अवस्था देख्दा कस्तो लाग्छ ?
धेरै ठूलो कन्फ्िल्क्टपछि शान्तिको स्थितिमा आइपुगेका छौं हामी । पहिला दिनदिनै बम पड्केको, कैयौं मान्छे हताहत भएको, कैयौं अपहरणमा परेको सुन्थ्यौं । अहिले कम्तीमा त्यत्तिका विधि मानिसहरु मरेका छैनन् । यसलाई हामीले सकारात्मकरुपमा लिनुपर्छ । अब यस्तो अवस्थामा कन्फ्िलक्ट आजकै भोलि समाधान हुन्छ भन्ने आशा पाल्नुहुँदैन । यी कुरा विस्तारै समाधान हुँदै, बन्दै, सिक्दै जाने कुराहरु हुन् । त्यसैले धेरै हरेस नखाइहालुँ तर जनताहरु ज्यादै इरिटेट छन् । बैठक बस्यो, समाधान हुन सकेन, बिनानिष्कर्ष टुंगियो, फेरि बैठक हुने जस्ता समाचार सुन्दासुन्दा मान्छेहरु इरिटेट भइसके । कति लाज नभएका नेताहरु भनेर जनताले भन्न थालिसके । यसको मतलब नेताहरु असफल भइसकेका हुन् तर राजनीतिको विकल्प पनि छैन । यत्तिको बिलखबन्दमा त जनता कहिल्यै परेका थिएनन् । त्यसैले म के भन्न चाहन्छु भने नेता र राजनीतिको विकल्प अरु नभएका कारण प्लिज यसलाई यति धेरै बदनाम नबनाइदिनुहोस्, तपाईंहरु पनि बदनाम नहुनुहोस् । नेता भन्नासाथ भ्रष्टाचारी हुन्छन्, बदनाम हुन्छन् भन्ने छाप नपार्नुहोस् । आखिर भोलि त सहमतिमा आउनैपर्छ, एकठाउँमा आउनैपर्छ भने अहिले नै सहमतिमा किन नआउने !
आगामी सरकारको नेतृत्वलाई लिएर पार्टीहरुबीच उति राम्रो सम्बन्ध छैन । प्रचण्ड प्रधानमन्त्रीका रुपमा हुनेभए कांग्रेसले अमान्य भन्छ । अनि माओवादीले आफूलाई नेतृत्व नदिए संविधान नबनाउने भनेर खोचे थाप्छ । यस्तो अवस्था देख्दाचाहिँ तपाईंलाई कस्तो लाग्छ ?
अब सबैभन्दा ठूलो दलको हिसाबले माओवादीले सरकारको नेतृत्व गर्न पाउनु ठीक हो । अनि सबैभन्दा ठूलो दलभित्रका सदस्यहरुले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने भनेर निर्णय गर्छन् भने अर्को पार्टीले चित्त दुखाउनु नितान्त बेठीक कुरा हो । यस्तो फासफुसे कुरामा अड्डी लिनुहुँदैन । त्यो सिट त जिन्दगीभर बस्ने होइन नि ! सबै पार्टीले महानता देखाउने हो भने त गगन थापालाई दिए पनि हुन्छ । जो आए पनि जितेको मान्छे आओस् क्या ! चुनावमा हारेका मान्छे प्रधानमन्त्रीचाहिँ नहोस्- हामीले हालेको भोटको अपमान हुन्छ । यसको अर्थ हार्ने मान्छेलाई बाइकट गरेको होइन, अर्कोपटक त उसले जितिहाल्छ नि !
माधव नेपालजीको प्रधानमन्त्रीत्व कालचाहिँ तपाईंलाई कस्तो लाग्छ ?
हेर्नुस्, माधव नेपालजी ज्यादै असल मान्छे हुनुहुन्छ । उहाँसँग मेरो धेरै राम्रो सम्बन्ध छ । उहाँ मृदुभाषी हुनुहुन्छ, सबैलाई मिलाएर लैजानसक्ने खुबी छ । उहाँ व्यक्ति असल हो तर उहाँको प्रधानमन्त्रीत्व कालचाहिँ ज्यादै राम्रो भयो भनेर भन्न सकिने ठाउँ छैन । यो टालटुले सरकार हो । अनि यो सरकार असफल भयो भने पनि माधव नेपालको बेइज्जती हुँदैन । उहाँले पनि आफ्नो सरकार टिकाउन आफ्नो उचाइभन्दा धेरै तल खस्नुपरेको छ । त्यो सँगैमा उहाँको व्यक्तित्व खस्केको छ ।
देशभित्रका विभिन्न आपराधिक र अर्धराजनीतिक संगठनहरुलाई विदेशीहरुले मलजल गरिरहेको कुरा उठिरहन्छ, तपाईंलाई ती कुराहरु वाहियात हल्ला लाग्छन् कि साँच्चै ?
हुनसक्छ । हामी भारत र चीनको बीचमा छौं । हाम्रो महत्त्व बरु हामीलाई थाहा छैन, विदेशीलाई थाहा छ । त्यसैले दुईतिर खेल्न चाहनेले यहाँ अस्थिरता मच्चाउन खोजिरहेका हुनसक्छन् । कसैले चीनलाई टुक्र्याउने खेल खेलिरहेका होलान् अनि कसैलेचाहिँ भारतलाई टुक्र्याउने । तर, भारत र चीनले के बुझ्न जरुरी छ भने नेपालमा अस्थिरता भयो भने तिनीहरुलाई पनि फाइदा हुँदैन । उनीहरुलाई त लङ टर्म घाटा हुन्छ ।
समयमा संविधान बनाउन दलहरुले के-के कुरामा ध्यान पुर्याउनु पर्ला ?
के-के भनेर धेरै कुरामा ध्यान दिनै पर्दैन । देशको स्वार्थ भन्ने एउटै चिजमा ध्यान दियो भने देशमा संविधान चाँडै बन्छ र त्यो बनाउन कुनै समय लाग्दैन भन्ने मलाई लाग्छ । नेताहरु देशभक्त भए भने देश बनिहाल्यो नि ! लोकतन्त्रभित्र सबै अट्छन्, लोकतान्त्रिक संविधान बन्यो भने समस्या समाधान हुन्छ । तर, २०४७ सालको जस्तो नबनाई लोकतान्त्रिक संविधान बनाउन आवश्यक छ ।
यिनीहरुको यस्तो अवस्था देख्दा म आफै नेता बनुँ कि क्या हो भन्ने लाग्दैन तपाईंलाई ?
मनमा लाग्छ । ५० वर्षभन्दा उकालो लागिसकें, फेरि राजनीति सिक्नुपर्छ र इम्प्िलमेन्ट गर्न अझै समय लाग्छ । स्कुल, कलेज पढ्दा कहिलेकाहीं राजनीति गरूँ भन्ने त नलागेको होइन । तर, कलाकारिताबाट नै मैले पनि राजनीति गरिरहेको छु । हामी नन्पोलिटिकल पोलिटिक्स गरिरहेका छौंजस्तो लाग्छ ।
तपाईं कलाकार भएर अरु मनपर्ने २ जना कलाकार को-को हुन् ?
एकजना मदनकृष्ण श्रेष्ठ अनि अर्कोचाहिँ नारायणगोपाल ।
करिश्माजीले त तपाईंलाई प्रेमि रुपमा उभ्याउनु भएछ त एउटा अन्तर्वार्तामा !
उहाँले मेरो व्यक्तित्वलाई सम्मान गर्नुभएको होला किनभने हामी पनि त पहिला हेमा मालिनीलाई हेर्दा हाम्री डि्रम गर्ल उनी नै होलिन् भन्ने सोच्थ्यौं । त्यस्तो त जसलाई पनि लाग्नसक्छ ।
तपाईंलाई करिश्माजी देख्दा कहिलेकाहं मनमा यिनलाई बिहे गर्न पाए हुन्थ्यो भन्ने आएन ?
हेर्नुस्, करिश्माजीका बारेमा प्रचण्डजीले त प्रतिक्रिया दिनुभयो । प्रचण्डजीले करिश्मा मनपर्ने कलाकार भन्नुभएको हुँदा हामीलाई मननपर्ने भन्ने कुरा पनि त हुँदैन । राम्रो फूललाई त जसले पनि हेर्छ । म उहाँको सौन्दर्यलाई सम्मान गर्छु ।
-नेपालीपत्र
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 317 पटक हेरेको
Share