आज नेपालमा :

यस्तोमा बस्छन् अर्बपतिहरु
[ Posted on 10th of July ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

चिटिक्क परेको घर बनाउने सपना धेरैमा हुन्छ । यही सपनाकै कारण घर बनाउन धेरैले वर्षौंको कमाइ खर्च गर्छन् । पैसा जोगाउँछन् अनि गच्छेले सकेको सानदार घर बनाउँछन् ।

यस्तो राम्रो बासस्थान बनाउने मोह नेपालीमा मात्र भएको भने पक्कै होइन । विश्वका अर्बपतिले पनि लाखौं डलर घर बनाउन खर्चेका छन् । अर्बपतिको सूचीमा बारेन बफेट यस्ता धनाढ्यमा पर्छन्, जो साधारण घरमा बस्न चाहन्छन् ।

बर्सेनि विश्वका अर्बपतिहरूको सूची प्रकाशित गर्ने फोब्र्स म्यागजिनले धनीको सूचीमा अघिल्लो क्रममा आउने व्यक्तिका केही घरबारे सूचना प्रकाशित गरेको छ । कस्ता छन् त धनीका ठूला महल ? फोब्र्सले अर्बपतिका महलको सूचीमा अघिल्लो स्थानमा राखेको ५ बासस्थान ।

बफेटको घर

वारेन बफेट विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा पर्छन् । उनको सम्पत्ति ४७ अर्ब अमेरिकी डलर छ तर उनको घर ६ हजार वर्ग फिटमा मात्र फैलिएको छ । जुन एक रोपनीभन्दा कम क्षेत्रफल हो । उनको यो घर अमेरिकाको ओमाहामा पर्ने नेबरास्कामा छ ।

बाहिरबाट कुनै रङ नलाएको पुरानोजस्तो देखिने उनको घरमा ५ वटा मात्र सुत्ने कोठा छन् । यो घर उनले सन् १९५८ मा ३१ हजार ५ सय डलरमा किनेका हुन् ।

तर उनको घरमा ७९ वर्षे बूढा बफेटलाई आवश्यक सबै पूर्वाधार छन् । यही घरमा उनले पहिलेबाट खेल्ने गरेको ह्यान्डबलको कोर्ट छ । जुन उनी सधैं राम्रो अवस्था राख्न चाहन्छन् ।

उनले सुरुमा किनेको घरलाई सन् २००७ मा मर्मत गरेका थिए । त्यसबेला उनले घरको सुरक्षा हुने खालको मर्मत गरे । घर पछाडि रूखहरू छन् । तर घरको शंृगार र बाहिरी दृश्य विश्वको तेस्रो धनी व्यक्तिको जस्तो छैन । सामान्य जीवन बिताउन चाहने बफेटको मुख्य घर दुईतले छ ।

गेट्सको पहाडी निवास

लामो समयसम्म विश्वका धनी व्यक्तिको सूचीमा पहिलो स्थान कब्जा गरेका बिलगेट्स अहिले दोस्रो स्थानमा छन् । ५३ अर्ब डलर सम्पत्ति भएका उनका घरको कम्पाउन्ड ६६ हजार वर्ग फुटमा फैलिएको छ । उनका घर वासिङटनको मिडिनामा छ ।

जंगलको बीचमा रहेको कुनै रिसोर्टजस्तो देखिने उनको घर रहेको स्थानमा लाके वासिङटनको पहाडी क्षेत्रमा बनाइएको हो ।

गेट्सको घरमा ६० फुटको स्विमिङ पुल छ । यसमा पानीभित्र डुबेर पनि गीत सुन्न सकिने -अन्डर बाटर म्युजिक सिस्टम) छ । उनको घरको अझ आकर्षणको कुरा भनेको जिमशाला हो, जुन २ हजार ५ सय वर्ग फुटमा फैलिएको छ ।

खाना खाने कोठाको क्षेत्रफल मात्र १ हजार वर्ग फुटको छ । त्यसमा २४ जनाले आरामसँग खाना खान मिल्छ । हेर्दा नेपालको जस्तो देखिने उनको घर अगाडि बगैंचा छ । तर बाहिरबाट हेर्दा कम्पाउन्डको धेरै क्षेत्र रूखले ढाकेको देखिन्छ ।

भारतीय मूलका धनीको लन्डनमा सानदार घर

सबैभन्दा बढी पैसा भएका व्यक्तिको सूचीमा विश्वमै पाँचौं स्थानमा आउने भारतीय मूलका लक्ष्मी मित्तलको सम्पत्ति २८ अर्ब ७० करोड डलर छ । यी धनी व्यक्तिको सम्पत्ति र घर लन्डनमा छ ।

मित्तलले सन् २००४ मा अहिले बसिरहेको घर किनेका थिए । त्यतिबेला उनले घरका लागि १ करोड २८ लाख डलर तिरेका थिए । १२ वटा सुत्ने कोठा भएको उनको घर लन्डनको किन्सटन जिल्लामा छ । उनको घरभित्रको किन्सटन प्यालेस र सुल्तान आफ बुर्नीको बीचमा एउटा स्विमिङ पुल छ । त्यसलाई टर्किस बाथ भनिन्छ ।

उनको घरभित्र २० वटा कार राख्न मिल्ने ग्यारेज छ । बाहिरबाट हेर्दा लन्डनका सामान्य घरजस्तो देखिने उनको घरमा भारतको ताजमहलमा प्रयोग गरिएको मार्बल बिच्छ्याइएको छ ।

ल्यारीको जापानी शैलीको बंगला

विश्वको छैटौं अर्बपति ल्यारी इलिसनको घर क्यालिककफोर्नियाको वुडसाइड भन्ने ठाउँमा छ । २८ अर्ब अमेरिकी डलरका मागिक ल्यारीको घर धेरै ठूूलो क्षेत्रमा फैलिएको छ ।

ओराकल कम्पनीका सस्थापन ल्यारीको घर २३ एकड जग्गामा फैलिएको छ । ६५ वर्षे उनको घरको बीचमा ठूलो ताल छ । साना घर, जंगल र ताल मात्र नभई उनको घरभित्र लामो गाडी गुड्ने बाटो पनि छ ।

१६ औं शताब्दीको जापानी दरबारबाट प्रेरित भएका उनले यो महलका लागि २ करोड अमेरिकी डलरभन्दा बढी खर्चेका छन् । उनका श्रीमती र दुई छोराछोरी छन् ।

डेलका मालिकको घर

विश्वको दोस्रो ठूलो कम्प्युटर तथा ल्यापटप निर्माण गर्ने कम्पनीका संस्थापक माइकल डेल टेक्ससको अस्टिनमा बस्छन् । ११ अर्ब ५० करोड रुपैयाँ सम्पत्तिका मालिक उनले विश्वका धनी व्यक्तिको सूूचीमा ३७ औं स्थान ओगट्छन् ।

उनको पछिल्लो नामबाट नभई ल्यापटप र कम्प्युटरको नामबाट डेलको खुबै चर्चा गर्ने विश्वका धेरै मानिसका बीच उनको बासस्थान पनि चर्चा गर्नलायक छ । उनले सन् १९९७ मा ३३ हजार वर्ग फुट क्षेत्रमा फैलिएको घर बनाएका थिए । जसमा उनले सुरुमा आफ्नो कम्प्युटर कम्पनी स्थापना गरेका थिए । उनका घरमा आठ वटा सुत्ने कोठा छन् । यति मात्र होइन सभा/सम्मेलन गर्ने ठूलो हल पनि छ । घरभित्र र बाहिर स्विमिङ पुल छन् । ४५ वर्षे डेलको घरको कम्पाउन्डको पर्खाल ठूलो लगाइएको छ र सुरक्षा व्यवस्था कडा गरिएको छ ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 348 पटक हेरेको Add to Google Share