पछिल्लो समय सूचना-प्रविधिको क्षेत्रमा के-कस्ता उपलब्धि भए वा विश्वबजारमा कस्ता उत्पादन भित्रिए ? खोजी गर्न अन्त जानुपर्दैन । राजधानीमा जारी क्यान इन्फोटेक पुगे हुन्छ । सूचना-प्रविधि सम्बद्ध वर्षकै भव्य मेलामा नयाँ र अनौठो प्रविधिले अवलोकनकर्ताहरूलाई सजिलै लोभ्याउन सक्छ । पछिल्लो समयमा विकसित प्रविधिका विभिन्न स्वरूप त्यहाँ देख्न सकिन्छ ।
डिभी फोर ल्यापटपदेखि नेटबुकसम्म मोबाइलदेखि आइफोनसम्मका प्रविधिले मेला भरिभराउ छ । विभिन्न सफ्टवेयर, एन्टिभाइरस, डिजिटल क्यामेरा, पेनड्राइभ, इन्भर्टर, युपिएस, कम्प्युटर, एलसिडी टिभी तथा मनिटर, मोबाइलजस्ता प्रविधिका विकसित स्वरूपले इन्फोटेकको १६ औं संस्करणलाई नयाँपन दिएको छ ।
द हलमार्क इन्फोसिस प्रालिले १ दशमलव ५ देखि २ किलोग्राम तौलसम्मको नेटबुक सार्वजनिक गरेको छ । कम्प्युटर प्रविधिको यो नयाँ एवं विकसित स्वरूप हो । ल्यापटप र नोटबुकपछिको यो प्रविधिमा तुलनात्मक रूपमा बढी फिचर समेटिएको छ । हलमार्कको स्टलमा एप्पल कम्पनीले उत्पादन गरेको तीन मोडलको इपिसी नेटबुक देख्न पाइन्छ । त्यस्तै, पहिलो पटक पान्डा ब्रान्डको पेनड्राइभ पनि सार्वजनिक गरिएको छ । यो पेनड्राइभ चार गिगाबाइट क्षमताको छ ।
मोबाइलबाटै आफ्नो कार्यालयको गतिविधि नियाल्न सकिने प्रविधिले मेलाको आकर्षण थपेको छ । कार्यालयमा डिभिआर जडान गरेपछि इन्टरनेट सुविधा भएको मो बाइलबाट यस्तो गतिविधि नियाल्न सकिने सैलेश लोहनीले बताए । चीनको भेस्पो कम्पनीले उत्पादन गरेको डीभीआर अर्थात् डिजिटल भिडियो रेकर्डरलाई महत्त्वका साथ सार्वजनिक गरेको छ मेघाटेक पावर एन्ड कम्युनिकेसन सोलुसनले । सुरक्षाका लागि यो प्रविधिको प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।
एउटै संस्थाको मुख्य कार्यालयदेखि विभिन्न शाखा कार्यालयहरूमा निःशुल्क सञ्चार सुविधा प्रवाह गर्ने प्रविधि पनि मेलामा सार्वजनिक गरिएको छ । भ्वाइस ओभर आइपी - भिओआइपी) प्रविधिवाट यस्तो सेवा सम्भव भएको हो । यो प्रविधिमार्फत वैधानिक रूपमै एउटा संस्थाको मुख्य कार्यालयदेखि शाखा कार्यालयहरूबीच निःशुल्क टेलिफोन गर्न सकिन्छ । भिओआईपीलाई आइडि्रम प्रोफेसनल प्रालिले सार्वजनिक गरेको हो ।
आईडि्रमले वेनक्यु ब्रान्डको तीन मिनी ल्यापटप पनि सार्वजनिक गरेको छ । टोय वुकलाइट यु-१०२ तथा टोय वुक एस-३५ मोडलको ल्यापटप नयाँ हुन् । मिनी ल्यापटपको मूल्य २७ हजार ५ सयदेखि ५० हजार रुपैयाँसम्म पर्ने आइडि्रमले जनाएको छ । मेलामा एचपी ब्रान्डको डिभी फोर ल्यापटप पहिलो पटक सार्वजनिक गरिएको छ ।
विगतको भन्दा शक्तिशाली सिसिटिभी मेलामा देखिने नयाँ प्रविधि हो । लिंकस कम्पनीले उत्पादन गरेको यो सिसिटिभी हाइटेक इन्जिनियरिङ प्रालिको स्टलमा उपलब्ध छ । त्यस्तै डिजिकम ब्रान्डको एडिएसएल राउटर, भिआईपी डिभाइसजस्ता प्रविधि पनि लिंक्सले सार्वजनिक गरेको छ । त्यहाँ अप्टिकल फाइबरका सम्बन्धमा पनि हेर्न, बुझ्न सकिन्छ ।
डेक्सटप कम्प्युटरकै मूल्यको ल्यापटप मेलामा उपलब्ध छ । इलेक्ट्रोनिक कम्युनिकेसन इन्जिनियरिङ प्रालिले सस्तो मूल्यको यो ल्यापटप उपलब्ध गराएको हो । त्यहाँ ३० हजार रुपैयाँमा ल्यापटप किन्न सकिन्छ । त्यस्तै त्यहाँ किङ्सको एन्टिभाइरस पनि पाइनेछ ।
जे एन जेले पहिलो पटक सुजुकी ब्रान्डको ल्यापटप सार्वजनिक गरेको छ । ९ इन्चदेखि १७ इन्चसम्मका यी ल्यापटपमा पछिल्ला सबै फिचर उपलब्ध छ । ल्यापटपको मूल्य २६ हजारदेखि ९० हजारसम्म पर्ने बताइएको छ । इन्फोटेक कम्प्युटर प्रालिले इसिएस इलाइट ग्रुप मदरबोर्ड, ग्राफिक्स कार्ड, ट्रेडनेटको वायरलेस सामग्री, पगारियाको इन्भर् टर युपिएस, जेडनिथको डेक्स्टप कम्प्युटर सार्वजनिक गरेको छ ।
मेलामा एसर ब्रान्डको मदरबोर्ड देख्न पाइन्छ । नयाँ ब्रान्डका रूपमा यो मदरबोर्ड मारुती कम्प्युटर ट्रेडर्सले सार्वजनिक गरेको हो । मेलामा वायरलेस किवोर्ड, माउस पनि सार्वजनिक गरिएको छ । क्लिक नगरी औंला घुमाएर सञ्चालन गर्न सकिने माउस तथा आइम्याक डेक्सटप कम्प्युटरले पनि मेलामा नयाँपन थपेको छ । विश्वप्रसिद्ध ब्रान्डका ल्यापटप तथा डेक्सटपका पछिल्ला स्वरूप मेलाका थप आकर्षण हुन् ।
कम्प्युटरको हार्डवेयरका सम्बन्धमा घरमै बसेर सिक्न सकिने सपmटवेयर मेलामा देख्न पाइन्छ । नेपालमै तयार गरिएको यो सफ्टवेयरको माध्यमबाट सहजै सफ्टवेयर बनाउने सीप सिक्न सकिन्छ । यसलाई नेपाली भाषामा तयार गरिएको छ । टचस्टोन इन्फोसिस प्रालिका माधव त्रिपाठीले तयार गरेका अन्य थुप्रै सफ्टवेयर मेलामा सावर् जनिक गरिएको छ ।
लोडसेडिङलाई लक्षित गरेर प्रदर्शित विद्युत् आपूर्तिका वैकल्पिक प्रविधिहरूले पनि अवलोकनकर्ताको ध्यान खिचेको छ । कार्यालय तथा घरायसी प्रयोजनका लागि थोरै मूल्य र सानो आकारको जेनेरेटर मेलामा उपलब्ध छ । सानो इन्जिनको यो जनेनेटर छरितो हुनाका साथै ध्वनिविहिन छ । १ केभिएदेखि ५ केभिएसम्मका यी जेनेरेटरको मूल्य १ लाख ४६ हजार रुपैयाँ सम्म पर्ने ओम्नी बिजनेस कर्पोरेटका पारस केसीले बताए । त्यस्तै ओम्नीले इन्र्भटर, युपीएस पनि सार्वजनिक गरेको छ । स्काइ नेपाल प्रालिले पनि एपिडी कम्पनीको युपिएस, इन्र्भटर मेलामा उपलब्ध गराएको छ । मेलामा मल्टिफंसन फोटोकपी देख्न पाइन्छ । रंगीन फोटोकपी सुविधासहित एउटै प्रविधिबाट फ्याक्स, पि्रन्ट गर्न सकिने यो उत्पादन कार्यालय प्रयोजनका लागि महत्त्वपूर्ण मानिन्छ ।
अटारी इन्टरनेसनलले ल्यापटप एसोसरिज प्रदर्शनीमा राखेको छ । अटारीले पहिलो पटक ल्यापटप ब्याट्री रिपेयरिङको सुविधा पनि सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधिमा आधारित फोर डी थिएटरका बारेमा सम्पूर्ण जानकारी लिन पाउनु मेलाको अर्को आकर्षक पक्ष हो । नेपालमा पहिलो पटक सञ्चालित फोर डि मुभीका सम्बन्धमा क्रेजी एम्युजमेन्टबाट जानकारी लिन सकिन्छ । क्रेजीले मेलाको अवसर पारेर टिकटमा छुट पनि प्रदान गरिरहेको छ ।
शिव मुखिया,
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 150 पटक हेरेको
Share