यादव खरेल निर्देशित चलचित्र श्री स्वस्थानीमा स्वस्थानीमाताको भूमिका निर्वाह गरेर नेपाली चलचित्र उद्योगमा नायिका जल शाहको पदार्पण भएको थियो। जलको पहिलो व्यावसायिक चलचित्र भने प्रकाश सायमी निर्देशित अवतार हो। पराईघर, ठूल्दाइ, घुम्टो आदि दर्जनौं व्यावसायिक चलचित्रमा नायिकाका रूपमा अभिनय गरेकी शाह चार वर्षअघि अमेरिकावासी शरदकुमार रिमालसँग विवाह गरेपछि नेपाली चलचित्र उद्योगबाट लगभग पलायन भइन्। विवाहपछि गत महिना उनी नेपाल फर्किएकी छिन्। परिवारका सदस्यसँग भेटघाटका लागि आएको बताउने जल अब केही महिना नेपाल बस्ने योजनामा छिन्। अमेरिकाबाट छोरी कलशका साथ आएकी जलका अनुसार अब केही दिनभित्रै श्रीमान् शरद पनि नेपाल आउँदैछन्।
मोटाउनु भएछ नि ?
अमेरिकामा खाने-बस्ने काम मात्र भयो, त्यसपछि मोटाउन के चाहिन्थ्यो, नेपालमा हँुदा पो यो खाने कि नखाने, शरीर कसरी मेन्टेन गर्ने, सुटिङ छ भन्ने हुन्थ्यो, त्यहाँ त बिहे गरियो, छोरी जन्मी, त्यसपछि स्वाभाविक ढंगले मोटाए । मलाई बच्चा एकदमै मनपर्ने, त्यो पनि छोरी, भगवान्ले चाहना पुर्याइदिनुभयो, उसलाई हुर्काउने क्रममा श्रीमान्को कमाइ खाएर आनन्दले बसंे, त्यही भएर मोटाएको होला ।
जीवनभर अभिनयलाई निरन्तरता दिन्छु भनेको मान्छे बीचैमा गायब हुनुभयो नि ? अब फेरि अभिनयमा र्फकने सम्भावना छैन ?
अफकोर्स, निरन्तरता दिन्छु, १२-१३ वर्ष निरन्तर चलचित्र उद्योगमा सक्रिय भएर बीचमा ब्रेक लिने योजनामा थिएँ, त्यही भएर अहिले साढे तीन-चार वर्ष ग्यापजस्तो भएको छ । यसलाई जल शाह चलचित्र क्षेत्रबाट गायब भन्न मिल्दैन ।
तत्कालै अफर आयो भने काम गर्ने मन छ कि छैन ?
अवश्य छ, अभिनय भनेको त मेरो प्यासन हो, अहिले पनि कसैले एक्सन भन्यो भने तुरुन्तै एक्टिङ गरूँजस्तो लाग्छ । अभिनय मेरो रगत रगतमा, नसा-नसामा छ, । मैले भनिहालें नि, अहिलेको ग्याप मेरो ब्रेक हो ।
अहिले त ज्यानले पनि तपाईंलाई नायिका बन्न साथ नदिने भयो नि होइन ?
विवाह गरेपछि मैले वास्तविक जीवन जिउने अभ्यास गरंे । दुईं वर्षअघि छोरी जन्मी । वैवाहिक जीवन इन्जोय गर्ने क्रममा मोटाएँ होला । मैले छोरी जन्माएपछि असल आमाको भूमिकामा पनि आफूलाई फिट गर्ने प्रयास गरें । एउटा रोटी मात्र खाएर ज्यान बनाउनतर्फ लागिनँ । मानिस त कहिले मोटाउँछ, कहिले दुब्लाउँछ, किन यो कुरालाई ठूलो इस्यु बनाउनुभएको ? जहाँसम्म अभिनयको कुरा हो, अभिनयको कुरामा शरीरले सरोकार राख्दैन, कलाकारको सबैभन्दा मुख्य कुरा अभिनय हो, अभिनयपछि मात्र एक्टर कति राम्रो छ, कत्तिको नाच्न आउँछ भन्ने कुरा आउँछ ।
त्यसो भए, नायिका हुन फिगर मेन्टेन आवश्यक छैन ?
मेन्टेन गर्नुपर्छ, अहिले तुरुन्तै काम आयो भने म पनि एक्सरसाइज गरेर तौल घटाउन सक्छु । एउटा निश्चित समय पाउने हो भने म नायिकाका लागि चाहिने साइजमा आउन सक्छु । अझै पनि म नायिकाका रूपमा अभिनयमा र्फकन सक्छु ।
विवाह गरिसकेका मात्र होइन, तन्नेरी छोराछोरी भएका नेपाली नायिकाहरूले फिगर मेन्टेन गरेको देख्नुभएकै होला, तपाईंले चाहिँ किन काम आएपछि मात्र मेन्टेन गर्ने सोच राख्नुभएको नि ?
हेर्नुहोस्, उहाँहरू यहाँकै परिवेशमा जीवनशैली बिताइरहनुभएको छ, तर म विवाह गरिसकेपछि विदेशमा सामान्य जीवनशैलीमा बसें, एक त देशबाहिर, त्यसमाथि फिल्मी वातावरणभन्दा अलग बसेपछि मैले फिगर मेन्टेन आवश्यक मानिनँ । यदि मेरो पनि यहीं विवाह वा बच्चा भएको भए भोलि यो पार्टीमा जानु छ, पर्सि अर्को समारोहमा जानु छ वा सुटिङको अफर आउला भनेर सोच्नुपथ्र्यो । म यहाँ भएको भए फिगर मेन्टेन हुन्थ्यो, तर आमा बन्ने क्रममा पाएको यो मोटोपनलाई मैले मज्जाले आत्मसात् गरेकी छु ।
कुराकानी गर्दा त तपाईं अब चलचित्र क्षेत्रमा फेरि जोडिनुहुन्न जस्तो देखियो नि त ?
होइन होइन, जोडिन्न भन्ने कुरै आउँदैन । राम्रो भूमिका आयो भने गरिएला, यसपटक अफर नआए अर्को पटक आउँदा गरिएला, तर मैले चलचित्र क्षेत्रबाट संन्यासै लिइसके भन्ने होइन ।
जल शाहका प्रशंसकहरूले आफूलाई मनपर्ने नायिकालाई फेरि पर्दामा देख्ने आशा गरिरहेका होलान् । तपाईं एकाएक टाढिँदा उनीहरूलाई कत्ति चित्त दुखेको होला, महसुस गर्नुभएको छ ?
अवश्य उहाँहरूले मिस गर्नुभयो होला, मैले पनि उहाँहरूलाई मिस गरिरहेकी छु । वास्तवमा भन्ने हो भने ११-१२ वर्षको अभिनय करियरमा उहाँहरूले मेरो कामलाई अपि्रसिएट गर्नुभएको थियो, उहाँहरूले इनकरेज गरेकैले म सफल थिएँ । दर्शकहरू मलाई राम्रो चलचित्रमा काम गर्ने सल्लाह दिनुहुन्थ्यो । त्यसकारण पनि यसपटक आउँदा मैले नयाँ चलचित्रमा काम गर्ने इच्छा राखेकी छु । तीन-चार वर्षको ग्यापमा आउँदा कोसेलीस्वरूप उत्कृष्ट भूमिकामा रहेर पृथक् चलचित्रमा अभिनय गर्न पाए हुन्थ्यो जस्तो लागेको छ ।
नयाँ नायिकाहरू स्थापित भैसकेको अवस्थामा अझै जल शाहको क्रेज होलाजस्तो लाग्छ ?
मेरो समय गयो भनेर मान्न म तयार छैन, तर नेपाली चलचित्र उद्योगले नयाँ पुस्ताका थुप्रै राम्रा कलाकार पाएकोमा म प्राउड फिल गर्छु । नेपाली चलचित्र उद्योगलाई राम्रा कलाकारको खाँचो पनि थियो, यसले उद्योगको विकासमा योगदान पुगेको छ तर जहाँसम्म अभिनयको कुरा छ, म सहजै जम्न सक्छु भन्ने आत्मविश्वास छ ।
अब आमा, दिदीको भूमिकामा फिट हुन सक्छु भन्नु'भा हो ?
तपाईंलाई थाहा होला, मैले अभिनय करियरमा भर्सटाइल एक्टरको परिचय बनाएकी थिए । हिरोको पछाडि दौडनु, हिरोसँग नाच्नु मात्र अभिनय होइन । मैले रमेश उप्रेतीको आमाको रोल पनि गरेकी थिए । त्यो मेरा लागि ठूलो च्यालेन्ज थियो, म आफ्नो कोस्टार भैसकेको मानिसको आमा बन्न तयार भएकी थिएँ । एक्टर भैसकेपछि हरेक प्रकारको भूमिका गर्न तयार हुनुपर्छ । भोलिका दिनमा आमा, दिदी, भाउजू जुनसुकै रोलमा आउन सक्छु, हिरोइन नै चाहिन्छ भन्ने होइन ।
एकाएक हराउनुभयो अनि सुटुक्क विवाह गर्नुभयो, किन ?
सुटुक्क गरें र ? सुटुक्क भनेको त भागेको भयो नि, तर मैले विवाह नै गरेको हो । अँ..... त्यस्तै भयो, जीवनमा प्लान नगरेका थुप्रै कुरा हुँदा रहेछन् । मेरो विवाह पनि यस्तै अन प्लान्ड प्रोग्राम थियो । प्लान गरेको भए सबैलाई जानकारी दिन्थें, सम्भव भएसम्म बोलाउँथे ।
प्रेमविवाह गर्छु भनेको मानिस अमेरिका पुगेर हतारमा विवाह गर्नुभयो, कतै विवाह गर्ने उमेर गैसक्यो भनेर अत्तालिएको त होइन नि ?
मेरो विवाह गर्ने उमेर गैसकेको थियो भन्ने लाग्दैन । छिटो-छिटो भनेर हतारिएको पनि होइन, एक हिसाबले भन्दा मलाई उहाँ मन पर्यो, उहाँलाई म, अनि शुभकाममा ढिलो गर्ने किन भनेर मात्र हो । प्लान नगरेको कुरा सबै अचानक भैरहेको थियो ।
तपाईंको अभिनययात्रा तथा नेपाली चलचित्र उद्योगका सम्बन्धमा श्रीमान् कत्तिको जानकार हुनुहुन्छ ?
ए, थाहा छ, थाहा छ, मैले विवाह गरेपछि उहाँलाई नेपाली चलचित्र उद्योगका सम्बन्धमा बताएँ, इन्टरनेटमार्फत मेरो मुभी, अरूको मुभी पनि देखाउँछु, । उहाँले मलाई मात्र होइन, चलचित्र उद्योगलाई पनि एकदम रेस्पेक्ट गर्नुहुन्छ । मैले जस्तो श्रीमान् खोजेकी थिएँ, त्यस्तै पाए ।
अनि त्यस्तो श्रीमान् पाउँदा चलचित्र बनाऊँ भन्नुभएन त ?
मैले फिल्म बनाऊू भनेको छैन, विवाह गरेको भर्खर दुई-तीन वर्ष मात्र भयो, पहिले लाइफ स्मुथ जाओस्, त्यसपछि भनौंला नि ।
जल शाहको रि-इन्ट्रीको टर्निङ प्वाइन्ट कस्तो हुन्छ भनेर आशा गर्ने त ?
मैले पहिलेदेखि नै नारीप्रधान चलचित्रमा काम गरेकीले त्यस्तै कुनै चरित्रमा अभिनय गर्ने इच्छा छ । अमेरिका बसाइका क्रममा म आफैंलाई पनि थुप्रै कन्सेप्ट आएको थियो, त्यो कन्सेप्टमा काम गर्ने इच्छा छ, त्यस्तै कसैले मलाई मनपर्ने भूमिका दिनुभयो भने म सहजै रि-इन्टी हुन्छु ।
सब्जेक्ट आफैसँग भएपछि त चलचित्र बनाए हुन्न र ?
होइन, मेरो अहिले नै चलचित्र बनाउने कुनै योजना छैन ।
अमेरिकामा तपाईं नेपालकी चर्चित नायिका भनेर कतिले चिन्छन ?
छरछिमेकीसम्मलाई थाहा छ, फेरि कसैलाई म यस्तो भनेर चिनाउने मेरो बानी छैन, बरु श्रीमान्ले साथीहरूको माझमा उहाँ नेपालको चर्चित नायिका भनेर चिनाउँदा मलाई लाज लाग्छ । म होइन-होइन भनेर टार्छु । त्यसपछि उनीहरूले कम्प्युटर अनलाइनमा हेर्छन्, अनि ओ वाउ भन्छन् । वास्तवमा मलाई मेरो प्रोफेसन र करियरप्रति अगाध माया छ, चलचित्रकर्मीलाई पनि म उत्तिकै माया गर्छु ।
त्यसो भए अहिलेको तपाईंको जीवन सेक्रिफाइस हो ?
अँ.... एक किसिमले सेक्रिफाइस हो, वैवाहिक जीवनका लागि, काम गर्दागर्दै लाइफमा टर्निङ प्वाइन्ट आयो । खै, यसलाई सेक्रिफाइस भन्न मिल्छ कि मिल्दैन, थाहा भएन ।
जलशाहको घर भत्कियो भनेर एउटा समाचार आएको थियो नि ? के भएको थियो ?
यो विषयमा म बोल्न चाहन्नँ । तपाइर्ं गाडिसकेको मुर्दालाई फेरि किन निकाल्न खोज्दै हुनुहुन्छ । यदि त्यो कुरा सत्य भएको भए म मेरा पत्रकार साथीहरूलाई पनि भन्थें होला, हाम्रो वैवाहिक सम्बन्ध सुमधुर भएकैले अहिलेसम्म साथै छौं, त्यसबेला उहाँ नेपालमा रहेका परिवारका सदस्यलाइ भेट्न आउनुभएको थियो, तर गलत समाचार लेखियो ।
तर पारिवारिक स्रोतलाई उल्लेख गरेर समाचार आएको थियो नि ?
हो, मैले पनि पत्रिकामा पारिवारिक स्रोत भनेर नै आएको देखेर घरमा कुरा गरेको थिए । म चुप लागेर बसेजस्तो लाग्छ तपाईंलाई ? सबैजना अचम्ममा पर्यौं, हँुदै नभएको कुरा कसरी बाहिर आयो भन्ने भयो । मैले पनि खोजी गरें । दाम्पत्य जीवनमा समस्या आउँदै नआउने भन्ने होइन, कहिलेकाहीं आउँछन्, तर समाचार नै बन्ने घटना थिएन त्यो । भर्खर विवाह भएको थियो, हामी एक-अर्कालाइ बुझ्ने प्रयास गर्दै थियौं, अचानक त्यस्तो समाचार आयो ।
तपाईंकी ममीका कारण दाम्पत्य जीवनमा समस्या आएको भनिएको थियो नि ?
पहिलो कुरा मेरी ममी जल शाहकी आमाभन्दा पहिले नै प्रेमा शाहका रूपमा अलग पहिचान बनाइसकेको व्यक्ति हो, उहाँ आफैं स्थापित भैसकेको मानिसलाई ज्वाइाको घरमा बस्न जरुरी पनि थिएन । मलाइ त अचम्म लाग्यो, ज्वाइाले न्युयोर्कमा फ्लाट किनेर राखिदिन्छु, तर यहाँबाट जानुहोस् भनेको भनेर समाचारमा लेखिएको थियो, पछि ममीलाई मैले 'न्युयोर्कमा फ्लाट किनिदिनुभयो त ज्वाइँले ?' भनेर जिस्क्याएँ पनि ।
तपाईंले आफ्नो उमेर सुहाउँदो युवक नरोजेर किन प्रौढलाई रोज्नुभएको नि ?
म्याचोर्ड भन्नु न । म्याचोर्ड मान्छेले बढी माया गर्छ, राम्रो अन्डरस्टान्डिङ हुन्छ, गार्जेनसिपको अभाव महसुस हँुदैन भन्ने बुझेर नै म्याचोर्ड रोजेको हो, उहाँको मायालु स्वभावले पनि मलाई आकषिर्त गरेको थियो ।
नेपाली नायिका म्याचोर्ड जीवनसाथी रोज्छन्, किन होला ?
हा, हा..हो त नि, तर मैले म्याचोर्डसँगै विवाह गर्छु भनेर खोज्दै हिँडेको होइन, जीवनमा कोही मान्छे यस्तो आओस्, जसले म्याचोर्ड माया देओस् भन्ने लागेको थियो, त्यस्तै भयो । मेरो श्रीमान् म्याचोर्ड भनेर बूढो होइन नि, अब नेपाल आएपछि सबैलाइ देखाउँला चिनाउँला, उहाँ र मेरो जोडी सुहाउँदै देखिन्छ भनेपछि आफैं अनुमान लगाउन सक्नुहुन्छ ।
अबको प्लान के छ नि ?
फेरि फर्केर जान त परिहाल्यो । अमेरिका गएपछि कुनै काम गर्छु होला, पछि जीवनको कुनै मोडमा राम्रो कथामा आफैंले एउटा चलचित्र बनाउने इच्छा छ, सायद बनाउँछु ।
श्रीमान्लाई नेपाल ल्याउने इच्छा छैन ?
छ नि, र्फकने त आफ्नै देशमा हो नि । अहिले केही समय उतै बस्ने हो, उहाँ यत्रो वर्ष त्यहाँ बसेको मान्छे, भन्नेबित्तिकै फर्किहाल्न सम्भव छैन, सबै कुरा मिलाएर नेपाल र्फकने योजना छ । त्यसबेलासम्म नेपालको राजनैतिक स्थिति पनि सुध्रन्छ होला, अनि र्फकनु राम्रो नि, होइन ?
विदुर खतिवडा ,साप्ताहिक
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 0
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(0 मत) | 286 पटक हेरेको
Share