अर्जुनले सुभद्रालाइ कौरवहरुद्वारा रचिएको चक्रब्यूहको रहस्य बताउँदै जाँदा सुभद्रा बिचैमा निदाउन पुगेकीले गर्भमा रहेका अभिमन्युले चक्रब्युहको अन्तिम खड्को सुन्न नपाएकोले उनि मारिनु परे जस्तै नेपाली काँग्रेस बिपीले जत्ति बताए त्यत्तिसम्म सफलतापूर्वक हिँड्यो । जव त्यहाँ भन्दा अगाडी बढने परिस्थिति बन्यो उ लडखडाई हाल्यो । जसरि नीयम र विधिको उलङ्घन गरेर षड्यन्त्रपूर्वक ढँगले अभिमन्यूको बध गरिएको थियो त्यसै गरि नेपाली काँग्रेस अहिले कुनै विधिविधान र मानवीय सीमाबन्धन नमान्ने शक्तिहरुको घेराबन्दीमा परेको छ । अहिलेको बदलीएको परिस्थितिमा प्रजातान्त्रीक समाजबाद स्थापनाको दिशामा नेपाली समाजमा विध्यमान सँभावनाहरू र व्यवधानहरू केके हुन ? सहयोगी शक्तिहरू कुनकुन हुन र कुनकुन शक्तिसँग तत्कालीन र केकस्ता शक्तिहरूसँग निर्णायक सँघर्ष गर्नु पर्ने हो ? भन्ने कुरामा काँग्रेस अल्मलिएको छ । मित्र शक्ति र परचक्रीको पहिचान गर्न सकिरहेको छैन । इतिहाँस साँक्षी छ बिपी कोइरालाको देहावसान पछि नेपाली काँग्रेस सुविधा अनुसार जुनसुकै शक्तिसँग लहसिने र परित्यक्त हुने गरेको छ ।
एकजना विश्लेषकले कहिँ लेखेका थिए साहित्यमा त्यतिका कृतिनीधि दिएका विश्वेस्वर प्रसाद कोइरालाले राजनीतिमा एउटै खँदिलो किताव नदिइकन गए । साम्यबादमा प्रजातन्त्र थपीदिए समाजबाद हुने र समाजबादबाट प्रजातन्त्र झिकिदिए साम्यबाद हुने उनको सतही सारसँक्षपको नेपाली सन्दर्भमा व्यावहारिक ढँगले ब्याख्या हुन सकेको छैन । एउटा घर होस,गरिखाने खेत होस, गोठमा दुहुनो गाइ र एकहल गोरू होउन, नानीहरूको शिक्षादीक्षा र औषधोपचारको प्रवन्ध होस....यहिनै नेपाली सन्दर्भमा समाजबाद हो भनेर तत्कालीन सन्दर्भमा समाजबादको यथार्थ र व्यावहारिक चित्र प्रस्तुत गर्ने बिपी कोइरालाले यी चाँजोपाँजो मिलाउने क्रममा नेपाली समाजले राजनैतिक,आर्थीक र सामाजीक रूपमा केकस्ता झँझावातहरूको सामना गर्नु पर्ने हुन सक्छ भन्ने कुराको सहि आँकलन गर्न सकेनन् कि भनेर सोच्नु पर्ने खण्ड आएको छ । सँभवतः दशक लामो माओबादी सशस्त्र बिद्रोह,सँघियता,गणतन्त्र र जातीय तथा क्षत्रीय स्वायत्तताका मुद्दाहरु यसरि उर्लेर आउलान भन्ने कुरामा उनको ध्यान पुगेको भए मुलुक,जनता र काँग्रेसले अहिलेको अवस्था भोग्नु पर्दैन्थ्यो कि ? उनि जस्तो भविष्यद्रष्टा राजनीतिज्ञको सुक्ष्म दृष्टि नेपाली समाजको गर्भमा चलायमान यी अन्तरद्धन्द्धहरुमा पुग्न नसक्नु वा त्यसको अन्दरुनी कम्पन महसुस गर्न नसक्नु मुलुकको लागि अत्यन्तै पीडादायी र नेपाली काँग्रेसका लागि प्राणघातक सावित भएको छ ।
बिपी कोइराला जिवित रहेसम्म काँग्रेसलाई कुनै समस्या यसर्थ भएन कि एक, काँग्रेसले २०१५ देखि २०१७ गरि दुई वर्ष मात्र अवसर पायो,दुई काँग्रेसमा त्यो कार्यकाललाई इतिहाँसकै उत्तम कार्यकालको रुपमा लीइन्छ र तीन बिपी कोइराला स्वयम् सँस्था, सिद्धान्त र सारथी थिए । उनले सहस्र नेता,कार्यकर्ता र समर्थक त जन्माएछन् तर उनको दीक्षालाइ बुझ्न,ग्रहण गर्न र बुझाउन सक्ने एउटै योग्य शिष्य पैदा गर्न सकेनछन् । यहि कारण हो कि काँग्रेस वृत्तमा ब्यक्तिब्यक्ति अनुसार समाजबादका फरकफरक मोडलहरू प्रचलनमा छन । किशुनजीले प्रजातान्त्रीक समाजबादको अभ्यास अद्यापि गरिरहनुभएको छ भने गिरिजाबाबुले पनि । रामशरण महतले पनि प्रजातान्त्रीक समाजबादकै कार्यान्वयन गरेका हुन भने जगन्नाथ अचार्यले पनि । प्रदीप गिरीले पनि प्रजातान्त्रीक समाजबादकै वकालत गरिरहेका छन भने गोबिन्द राज जोशीले पनि । मनमोहन भट्टराइ देखि गगन थापा सम्म सबैले आआफ्नो अनुकुलको समाजबादको ब्याख्या गरिनैरहेका छन् । भन्नलाइ काँग्रेसमा टप टु बटम् प्रजातान्त्रीक समाजबादकै अभ्यास भैरहेको छ भनिन्छ तर समाजबादको गुढ तत्व के हो भन्ने कुरामा सबै बेखवर देखिन्छन । वास्तवमा बिपी कोइरालाको देहावसान सँगै समाजबाद पनि नेपाली काँग्रेसबाट बाहिरिइसकेको अवस्था हो । त्यस यता काँग्रेससँग समाजबाद सम्म पुग्न सक्ने ठोस योजना, दृढ् ईच्छाशक्ति र स्पष्ट कार्यक्रमको खडेरी जस्तै परेको छ ।
समाजबाद स्थापनाको मार्गमा राजनैतिक रूपमा जे-जस्तो अवस्था रहेको भए पनि नेपाली समाजमा रहेका चुनौति र सँभावनाहरु बिपीको समयमा भन्दा खासै भिन्न छैनन् । गरिवी,पछौटेपन,अशिक्षा,अन्याय,अत्याचार,असमानता,कुसँस्कार,अन्धविश्वास,रूढीवाद,छुवाछुत, लिँगभेद, जातीभेद आदि नै नेपालका प्रमूख समस्या हुन भन्ने कुरा स्पष्टै छ । बारम्बार अवसर पाएर पनि यी सबको निराकरणका लागि काँग्रेसले प्रभावकारी कदम चाल्न नसकेको कुरा सत्य हो । सामन्तवादी उत्पादन सम्वन्धको अन्त्य र परम्पराबादी कृषि प्रणालीको आधुनिकीकरण नगरेसम्म समाजबाद तर्फ कदम बढाउन सकिँदैन । यसको लागि सबैभन्दा पहिले श्रोत र साधन माथिको सामन्तबादी एकाधिकारको अन्त्य र यसको पुनरवितरण अनिवार्य हुन्छ । त्यसै गरि राष्ट्रिय औद्योगिक पूँजीको सँरक्षण र त्यसको उच्चतम विकास हुन जरूरी हुन्छ । यसतर्फ काँग्रेसले विभिन्न कालखण्डमा विभिन्न कदमहरू उठाएको पनि हो । तर ती प्रयासहरू प्रयाप्त थिएनन् । काँग्रेसले यस दिशामा दृढता देखाउन नसक्नाले सामन्तबादी र यथास्थितिबादी तत्वहरू घाइते बाघ सरि अझ शक्तिशाली र निर्मम भएर प्रस्तुत भए । समाजमा रहेको बिभेद घट्नुको सट्टा बढ्दै गयो । गरीब र धनी बिचको खाडल फराकिलो हुँदै गयो । सत्ता र शक्तिको प्राप्तिले पार्टी भित्र नै नवधनाढ्य वर्गको उत्पत्ति भयो । सत्ता र शक्तिको बलमा सिँगो पार्टीलाइ समाजबादको हाइ वे बाट निकालेर सामाजीक प्रतिगमनको बाइरोडमा हिँडाउने काम भयो । यसबाट बिपि कोइरालाले कायम गरेको पार्टीको जनतासँगको सुमधुर सम्वन्ध क्रमशः टुट्दै गयो । पार्टीमा जन्मेको भुइँफुट्टा वर्गले काँग्रेस सँगसँगै मुलुकको राजनीतिलाइ नै अभिजात्य वर्गको सेवामा समर्पित ग-यो । प्रतिकृयामा काँग्रेसले लोकतन्त्र र समाजबाद स्थापनाको दिशामा शुरू देखिनै उठाइ आएका उसैका मुद्दाहरू क्रमशः पराया बन्दै गए ।
यस बीचमा नेपालका राजनैतिक शक्तिहरुसँग बिपी कोईरालाले कायम गरेको मार्यादापूर्ण सम्बन्ध र मित्रतापुर्ण दुरीको रणनीतिमा पनि यो दल अड्न सकेन । राजादेखि माओबादी कसै सँग पनि सहकार्य गर्न र सम्वन्ध बिगार्न काँग्रेस एक रत्ति हिच्किचाएन । बिपीको मेलमिलापको नीतिलाई सत्ताको मोलमोलाईको रुपमा प्रयोग गर्ने जस्तो हदैसम्मको धृष्टता उबाट भयो । फलस्वरुप काँग्रेसको लोकतन्त्र प्रतिको निष्ठामा समेत प्रश्नहरू उठाइए । जसको नेतृत्वमा १०४ वर्षे जहानीयाँ राणा शाशनको अन्त्य भएर देश आधुनिक युगमा पदार्पण ग-यो,३० वर्षे निरँकुश पञ्चायती व्यवस्थाको अन्त्य भयो,दशक लामो हिँसात्मक द्धन्द्धले बिश्राम लियो र शान्तीपूर्ण ढँगले २४० वर्ष पुरानो रातन्त्रले बिदा लियो, त्यहि दलप्रति जनताले प्रश्नचिन्ह लगाइदिए । यस्तो प्रतिघट्ना दुनियाँमा कमै मात्र भेटिन्छ । यसबाट बितेका साढे दुइ दशक काँ ग्रेस सतत् गलत बाटोमा हिँडेको प्रमाणीत भएको छ । गएको एक दशकमा विश्वका धेरै देशहरूमा प्रजातान्त्रीक समाजबादको पक्षमा जनमत उर्लँदै गर्दा नेपालमा नेपाली काँग्रेस ओरालो लाग्नुको प्रमुख कारण उसको सैद्धान्तिक उहापोह नै हो । काँग्रेसको यहि अयोग्यताबाट उत्पन्न निराशा,कुण्ठा र उकुसमुकुसको स्वभाविक लाभ अतिवादी तत्वहरूले उठाए । जसको कुप्रभाव अहिले मुलुक र जनताले भोग्नु परिरहेको छ । सैद्धान्तिक अन्यौलकै कारण ल्याटीन अमेरीका र युरोपमा भइरहेको प्रजातान्त्रीक समाजबादीहरूको उदयलाइ नेपाली काँग्रेसले क्याश गर्न सकिरहेको छैन ।
वर्तमान नेपाली समाजमा विद्यमान अन्तरविरोधहरूको सही विश्लेषणको अभावमा काँग्रेसमा विचलनहरू देखिएका हुन । आफ्नो सिद्धान्त र मूल्यमा अड्न नसक्ने,ब्यक्तिगत स्वार्थले वशिभूत भएर आत्तिने,मात्तिने र भास्सिने,समयको माँग अनुसार परिवर्तन हुन नसक्ने र अपरिपक्व समयमा अति मच्चिने जस्ता विकारहरू सैद्धान्तिक बाँझोपनकै उपजहरू हुन । सिद्धान्तमा विचलन र व्यवहारमा अवसरबादले नेपाली काँग्रेसलाइ पूरै गाँजेको छ । पार्टीले बैचारिक खुराक दिन नसके पछि कार्यकर्ता पङ्तिमा स्तर अनुसार नेताहरूका घर धाउने, चाकडी गर्ने, उनिहरूको ब्यक्तिगत सम्बन्धहरूको चियोचर्चा गर्ने, आनीबानी र उठबसको विश्लेषण गर्ने, पावर र पहूँचको लेखाजोखा राख्ने, त्यहि अनुसार आफुलाइ तयार पार्ने, अशोभनीय बादविवादमा उत्रिने,ब्यक्तिगत चरित्र हत्या गर्ने, गुटबन्दीमा लाग्ने र लाभान्वीत हुने जस्ता प्रवृत्तिले सँस्कृतिको रूप धारण गरेको छ । काँग्रेसको पचहत्तर प्रतिशत उर्जा यस्तै अन्तरिक/अनुत्पादक कृयाकलापहरूमा दुरूपयोग भैरहेको छ । स्पष्ट दृष्टीकोणको अभावमा पुरै पार्टी पङती अल्छि,स्वार्थी,पाखण्डी,निकम्मा,छाडा,परपीडक,अवसरबादी र सुवधाभोगी बन्न पुगेको छ । तिकडमबाजी नजान्ने सोझा र इमान्दार कार्यकर्ताहरू कतिपय पलायन भैके,कतिपय पछाडि धकेलिए भने अरू अपमान र अत्मग्लानी पीएर खटिरहेका छन । चिन्तन र बहसमा विस्वास राख्ने बोद्धिक वर्ग चर्को मानसिक तनावबाट गुज्रीरहेको छ । दुःखको कुरा हो, यत्रो इतिहाँस बोकेको र सैद्धान्तिक रूपले नूतन बाटो अवलम्वन गर्न लागेको मुलुकको प्रमुख दलमा प्रशिक्षण विभाग लगायत सबैजसो बिभागहरु निस्कृय राखिएको छ । काँग्रेस मुलुकको राष्ट्रीय चरित्र बोकेको एउटा मात्र दल भएकोले जब-जब यो दल कमजोर हुन्छ तव-तव मुलुकले अतिसय विपत भोग्नु परेको कुरा प्रमाणीत भैसकेको छ ।
यो दलले इतिहाँसमै सबैभन्दा नराम्रो हविगत भोग्दा पनि चेत्न नसक्नु बिडम्वना हो । गएको सँविधान सभा चुनावमा नेपाली जनताले यसलाइ सत्ता चलाउने अधिकार दिएका थिएनन् । यो अर्कै कुरा हो कि एनेकपा (माओबादी) ले नेपाली राज्यसत्ता कब्जा गरि नेपालमा अधिनायकबादी शाशन लागू गर्ने मन्सुबा नछोडुञ्जेल त्यसको प्रतिवाद गर्नु काँग्रेसको प्रमुख दायित्व हो । सत्तासीन दल अत्यन्तै गैरजिम्मेवार भयो भने त्यसको बिकल्प दिनु प्रतिपक्षको कर्तब्य पनि हुन आउँदछ । तर सधैँ सत्ता प्राप्तिको बहाना खोज्नु र लालची हुनु बिल्कुलै अनैतिक कुरा हो । लोकतान्त्रीक पद्धतिमा यस्ता अवसरहरूमा कि त प्रमूख प्रतिपक्षले आफैँ अघि सरेर बिकल्प दिन सक्नु पर्छ होइन भने सत्ता बाहिर रहेर अन्य कसैलाइ समर्थन दिने परम्परा हुन्छ । काँग्रेसले यी दुबै कुरा गर्न मानेन । अरू कसैको नेतृत्वमा बन्न लागेको गठवन्धन सरकारमा दलको नेतृत्व कसले गर्ने र कोको मन्त्रीमण्डलमा जाने भनेर शिर्षस्थ नेतृत्व तहमा देखिएको अवाञ्छीत प्रतिस्प्रधा र त्यसको परिणामले सुवेच्छुकहरूको नूर त गिरायो नै काँग्रेस प्रति रहेसहेको सहानुभूति समेत घटाइदिएको अनुमान गरिएको छ । यस सन्दर्भमा उसले देखाएको तेश्रो आयामले दलभित्र नयाँ खालको समिकरण निर्माणमा मद्दत पु-यायो । फेरिएको समिकरणले आफ्नो प्राथमिक कार्यभार काँग्रेस परम्परामाथि धावा बोल्नुलाइ बनायो । यसले गर्दा चेन अफ कमाण्ड ध्वस्त हुन गइ इतिहाँसमै प्रथम पल्ट दलको विधानतः सर्वशक्तिमान सभापतिले अवज्ञा सहनु प-यो । सभापतिको निर्देशन विपरित बसेको गत महासमितिको बैठकले उहाँको ईच्छा बेगर पार्टीलाई सामाजिक सँस्थाको ढर्रामा लैजाने निर्णय ग-यो । मासबेस पार्टीमा सभापतिलाई कमजोर पारिनु कत्तिको उपयोगी हुन सक्छ भन्ने कुरा भविष्यले बताउला नै । अहिले पार्टी भित्र कायम भएको समिकरणमा सिद्धान्तको गन्ध समेत छैन । ब्यक्तिगत महत्वकाँक्षा पूरा हुने देखिनासाथ रातारात समिकरणहरू बन्नु र भत्किनु सिद्धान्तहीनताको पराकाष्ठा हो ।
जनताले तोकिदिएको हैसियतलाइ अप्राकृतिक तरिकाले बदल्न खोज्नु कुनैपनि लोकतान्त्रीक दलको लागि शोभनीय हुन सक्दैन । जनताले तिरस्कार गर्नुका कारणहरू खोतल्नु र परिमार्जन सहित पुनः लोकमतको लागि उपस्थित हुनु सबैभन्दा उपयुक्त उपाय हो । तर दुर्भाग्य काँग्रेसको ध्यान अझसम्म पनि यतातर्फ मोडिन सकेको छैन । उसले आफ्नो खस्केको जनमत उकास्ने तर्फ एउटै प्रभावकारी कार्यक्रम दिन सकेको छैन । नेपाली काँग्रेसलाइ समाजबादबाट बिचलित गराउने र काँग्रेसलाइ बीपीको नीतिबाट घिसारेर सँघिय गणतन्त्रको ब्यूहमा हाल्ने दुबै खाले तत्वहरू काँग्रसको यो दुरावस्थाको लागि बराबर रूपमा जिम्मेवार छन । यी दइ ध्रुवीय अतिवादहरुको समिचिन विश्लेषण नगरिकन काँग्रेस अघि बढ्न सक्दैन । हिजो जसरि प्रजातान्त्रीक समाजबाद स्थापनाको लागि सँवैधानिक राजतन्त्र आवस्यक छ भनेर एक बर्गले लाभ लियो त्यसै गरि आज सँघिय गणतन्त्रलाइ मागि खाने भाँडो बनाएर लाभ लिन अर्को तब्का तैयार भैसकेको छ । अहिलेसम्म नेपाली काँग्रेसको बैचारिक स्तर त्यो भन्दा माथि उठेको पाइएको छैन ।
विषय वा प्रसँगले अर्को अर्थ नलागेमा पार्टीमा सँघिय गणतन्त्रको बैचारिक नेतृत्व गर्ने नरहरी आचार्य,विचारक प्रदीप गिरी,वाकपटु गगन थापा लगायत गणतान्त्रीक लाइनको महाअभियानमा सहभागि अन्य नेता कार्यकर्ता र समर्थकहरुको काँधमा समयले नयाँ नेपालको लागि नयाँ सोच सहितको नयाँ काँग्रेस निर्माण गर्ने अभिभारा सुम्पिदिएको छ भन्दा अत्युक्ति हुने छैन । यदि विगतमा पार्टीलाइ सैद्धान्तिक छलाँग मार्न प्रेरित गर्ने उनिहरू नै हुन भने उहनिहरुले कौशल प्रदर्शन गर्ने बेला यहि हो । नेपाली काँग्रेसले गणतान्त्रीक लाइन समातेको हुनाले नै सुखद परिणाम ल्याउन नसकेको हो भन्ने एकथरीको बुझाई रहेको छ । उनिहरुबाट त्यसको तार्किक खण्डन हुन जरुरी छ । यसको लागि उनिहरुलाई पार्टीको आसन्न बा-हौँ महाअधिवेशन भन्दा उपुयक्त थलो अरु हुन सक्दैन । पार्टीले लाइन बदले पछिको यो पहिलो महाधिवेशन भएको हुनाले यसको महत्व अझ बढी छ । बा-हौ महाधिवेशनले समाजबाद स्थापनाको लागि लोकतान्त्रीक सँघिय गणतन्त्र नै किन आवस्यक छ भन्ने बारेमा जनताले बुझ्ने भाषामा स्पष्ट कार्यदिशा प्रस्तुत गर्न सकेन भने त्यसको सम्पुर्ण अपजस उनिहरुले नै लिनुपर्ने छ । हिजो समाजबाद स्थापनाको प्रमुख बाधक राजतन्त्रलाई ठह-याईयो र त्यसको उन्मुलन गरियो । अबका बाधक तत्वहरु कुनकुन हुन सक्छन ? राजनैतिक रुपले को सँग प्रधान अन्तरविरोध छ र कुनकुन शक्तिहरु सहायक हुन भन्ने कुरा स्पष्ट हुन जरुरी छ । अब नेपालमा हाम्रा कोहि पनि दुश्मन छैनन भनेर काँग्रेस चल्न सक्दैन । राजनीतिमा शत्रु र मित्र नभएको पार्टी दुनियाँमा हुँदैन । काँग्रेसले पनि मनज्ञ शत्रु जन्माएको र हुर्काएको छ । काँग्रेसका गणतन्त्रबादीहरूको अहिलेसम्मको सैद्धान्तिक अभियानले परचक्रीहरूको सेवा गरिरहेको जस्तो देखिएको सन्दर्भमा यो महाधिवशेन उनिहरुको लागि जीवनमरणको सवाल बन्नु पर्दछ । नेपाली काँग्रेसमा फेरि पनि अहिले जस्तै बिचार कसैको र नेतृत्व कसैको हुने र बैचारिक इमान्दारिता नरहने जस्तो स्थिति रह्यो भने उसको अवस्था झन खस्केर जान सक्दछ । यस्तो अवस्थामा मुलुक, जनता र लोकतन्त्रले ठूलो मुल्य चुकाउनु पर्ने कुरा निश्चित छ । त्यो बेला काँग्रेसका गणतन्त्रबादीहरुले कसको सेवा गरिएछ भनेर देश,जनता र सँसारलाइ जवाफ दिनु पर्ने छ । पार्टी गणतान्त्रीक धारमा लागे पछि काँग्रेसको एउटा ठूलै समुह किनारा लागिसकेको स्थिति छ । गणतन्त्र नेपालमा यो पार्टी असफल हुन गयो भने अर्को समुह पलायन हुने पक्का छ, त्यसमा उनिहरु नपरून्, शुभकामना !
kshetriindra@yahoo.com
साथीलाइ पठाउनुस |
छाप्नुस
|
कमेन्ट गर्नुस: 4
कमेन्ट हेर्न
|
मत दिनुहोस:

(5 मत) | 232 पटक हेरेको
Share